थिएटर भिलेजले साहित्यकार जगदीश घिमिरेको उपन्यास 'साबिती' मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ।
विमल सुवेदीको डिजाइन तथा निर्देशन र जेनी सुनुवारको सहायक निर्देशनमा आगामी असार १७ गतेदेखि १९ सम्म शिल्पी थिएटरमा उक्त नाटक मञ्चन हुने भएको हो।
तीन दिन मञ्चन हुने नाटकको प्रमुख भूमिका निभाउन भारतीय रंगकर्मी अनुराधा मजुमदार काठमाडौं आएकी छन्। उनी नेपाली रंगमञ्चकी एक प्रत्यक्ष सारथी समेत हुन्। जसले 'खुमा' तथा 'बाँकी उज्यालो'जस्ता उत्कृष्ट नाटकमा अभिनय गरिसकेकी छन्।
'साबिती' नाटक थिएटर भिलेजले पहिलोपटक गर्न लागेको भने होइन। सन् २०१३ (वि सं २०७०) मा थिएटर भिलेजले यसै नाटकमार्फत शताब्दीपुरुष सत्यमोहन जोशीको सम्मानमा उनको नामबाट 'सत्यमोहन जोशी नाटकघर' उद्घाटन गरी आफ्नो कला यात्रा सुरु गरेको थियो। तर प्राविधिक कारणले उक्त नाटक पहिलो शो नसकिँदै रोकिएको थियो। त्यसपछि सन् २०१९ मा यही नाटक नयाँ दिल्लीस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा साउथ एसियन युनिभर्सिटीमा मञ्चन भएको थियो। त्यही वर्ष भारतकै जम्बूमा भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि यसले सहभागिता जनाएको थियो।
हिन्दी भाषामा रूपान्तरण भएको उक्त नाटकलाई वर्तमान नेपाली समयअनुकूल हुने गरी पुनः रूपान्तरण गरेर प्रस्तुत गर्न लागिएको हो। यो संस्करणको नेपाली रूपान्तरण विमल सुवेदी र सुरज सुवेदीले गरेका हुन्।
'धेरै पहिला लेखिएको भए पनि 'साबिती' कथाले समाजमा विद्यमान विविध विसंगतिको असली स्वरूप देखाउँछ। नेपाली रंगमञ्चमा धेरैजसो विदेशी नाटकको अनुवाद मात्र गरिने हुँदा थिएटर भिलेजले नेपाली नाटक तथा साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने आफ्नो उद्देश्य अनुरुप पहिलो कदमका रुपमा यसै नाटक मञ्चन गर्ने संकल्प गरेका थियौं,' निर्देशक सुवेदीले भने।
अभिनयको लागि हाल नेपालमा रहेकी रंगकर्मी तथा हरियाणास्थित स्टेट युनिभर्सिटी अफ पर्फमिङ एण्ड भिज्युअल आर्ट्सको अभिनय विभाग प्रमुख अनुराधा मजुमदार यस कथाले अनेकौं आयातित वाद र विश्वव्यापीकरणमा अडेस लागेका ती स्वरूप अनि त्यसकै आडमा रहेका पितृसत्ता, सामाजिक विभेद, राजनैतिक विसंगति, अनि शिक्षा र स्वास्थ्यको संवेदनाहीन कालो व्यापारीकरणलाई उदाङ्गो पारेको बताउँछिन्।
'महिला पात्रमार्फत नाटकले सामाजिक संरचनाले समानताको बाटो बिराउँदा वर्गीय, लैंगिक, सामाजिक, जातीय र आर्थिकजस्ता क्षेत्रमा पार्ने प्रत्यक्ष असरहरू केलाउँछ। नाटकले शून्यवाद नजिक रहेर घिनलाग्दो समाजलाई अनेक कोणबाट प्रश्नहरू गरेको छ,' उनले भनिन्। नाटकमा अनुराधासँगै सुजन वली र साजन कुमार सुनुवारको पनि अभिनय रहनेछ।
थिएटर भिलेजले केही समयअघि नारायण वाग्लेको चर्चित उपन्यासमाथि आधारित नाटक ‘पल्पसा क्याफे’ पनि मञ्चन गरेको थियो।