नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा 'बहुभाषिक नाट्य उत्सव २०७९' सुरू भएको छ। उक्त उत्सव असार १२ देखि १८ गतेसम्म चल्नेछ।
आरोहण, गुरूकुल स्कुल अफ थिएटरको सह-आयोजनामा हुन लागेको नाट्य उत्सवमा देशभरबाट प्रज्ञा प्रतिष्ठानलाई प्राप्त नाटकहरुमध्ये विभिन्न भाषाभाषीका ७ वटा नाटक मञ्चन हुनेछ।
नाट्य उत्सवमा लाप्चा उत्थान मञ्च इलामको लाप्चा भाषाको ‘स्वर्ग जाने सिडीँ’, पुरानो घर समूह (रौतहट) को थारु भाषाको ‘कनन हरलता’, बाम्बुले राई समाज (ओखलढुङ्गा) राई भाषाको ‘सुश्री सुम्निमा’, रंगभूमि एकेडेमी (धरान) को तामाङ भाषाको ‘डम्फुला साङ्ग्युर’, सुम्निमा थिएटर (ललितपुर) को पुमा भाषाको ‘होङ्छा’, चुलाचुली रंगमञ्च (इलाम) को लिम्बु भाषाको ‘सुविउ चरी’ र कर्णाली खस संस्कृति संरक्षण केन्द्र (जुम्ला) को अवधि भाषाको ‘कुटिरो’ मञ्चन हुँदैछन्।
नाट्य महोत्सवको पहिलो दिन सोङकित लाप्चा निर्देशित नाटक ‘स्वर्ग जाने बाटो’ मञ्चन भएको थियो। आइतबारबाट सुरु भएको नाट्य उत्सव कुञ्ज थिएटर थापागाउँमा ७ दिनसम्म चल्नेछ।