ओजस थिएटरमा नाटक 'असुर'को मञ्चन सुरु भएको छ।
भदौ १५ गते बुधबारबाट विवेक न्यौपाने (घने)ले निर्देशन गरेको नाटकको मञ्चन सुरु भएको हो। यस नाटकले शक्ति प्राप्तको लागि एक व्यक्तिले कतिसम्म गर्न सक्छ भन्ने कथालाई देखाउँछ।
'असुर एउटा गाउँको पारिवारिक कथा हो। यो कथामा एकै परिवारका दुई पिँढीको विचार मिल्दैन। कोही पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्छन् त कोही नयाँको। यिनीहरूको शक्ति संघर्ष बीचमा जो पर्छ, ऊ बर्बाद हुन्छ,' न्यौपानेले भने।
रविन दोङको लेखन रहेको नाटकले पितृसत्तात्मक सोचमा महिलाको जीवनलाई कसरी दमनमा राख्छ भन्ने कुरा पनि समेटेको छ।
'विसं २०५८ देखि ०६२/०६३ सम्मको देशको परिवेशलाई असुरले ऐनाले जस्तै देखाउने चेष्टा गरिएको छ। नाटकले उत्पीडित वर्गको पीडाहरूलाई देखाउन खोजेको छ। क्रान्तिको नाममा आम जनताले भोगेको सास्ती नै असुर नाटकको मुख्य अभिप्राय हो,' लेखक दोङले भने।
राजन कार्की र शंकर कार्कीको निर्माण रहेको नाटकमा केशवसिंह ठगुन्ना, प्रतीक दुलाल, नमस्ते दिवाकर घिमिरे, सोफिया बज्रचार्य, विजय सापकोटा, सन्तोषी पौडेल, उज्ज्वलराज ढकाल, श्याम कार्की, वीरेन्द्रसिंह कुशवाहा, अस्मिता ढकाल, शेखर दाहाल, गंगा मगर, विशाल परियार, लक्ष्मी राई, अनिल गुरुङ, ओसन कार्की, प्रशंसा गहतराज र शुक्रराज मगरको अभिनय छ।
चेतना सापकोटा कार्कीको सहनिर्माण रहेको नाटकका कास्टिङ डिरेक्टर सुरेन्द्र क्षेत्री हुन्। भेषभुषामा निशा गिरी, गंगा मगर र अश्मिता ढकालले काम गरेका छन्।
नाटकमा विवेक न्यौपानेले ध्वनि सम्पादन, उदिप सिवाकोटीले प्रकाश परिकल्पना, रविन दोङले मन्च परिकल्पना, सुरेन्द्र क्षेत्री र शेखर दाहालले मञ्च व्यवस्थापन काम गरेका छन्।
भदौ १५ देखि मन्चन सुरु भएको नाटक असोज ८ सम्म चल्नेछ। काठमाडौँस्थित ओजस थियटरमा बिहीबार बाहेक हरेक दिन साँझ ५:३० बजे नाटक सुरु हुनेछ। शनिबार भने दिउँसो १ बजे मञ्चन हुनेछ।