काठमाडौंको थापागाउँस्थित मण्डला नाटक घरमा नाटक 'सुनकेशरी' मञ्चन भइरहेको छ।
१२ वर्षअघि संस्कृतिविद् तथा नाटककार सत्यमोहन जोशीले लेखेको नाटकको परिकल्पना तथा निर्देशन राजन खतिवडाले गरेका हुन्।
यो नाटक कर्णाली प्रदेशको प्रचलित लोककथामा आधारित छ। एक युवतीले आफ्नो सुन्दरताका कारण भोग्नु परेका तीतामीठा संर्घषलाई नाटकमा प्रस्तुत गरिएको छ।
मण्डला थिएटर नेपालद्वारा सञ्चालित तीन महिने नाट्य प्रशिक्षण कार्यक्रम थिएटर ल्याबको दसौँ ब्याचका प्रशिक्षार्थीलाई लिएर नाटक मञ्चन गरिएको हो।
नाटकमा परीक्षा लिम्बू, खगेन्द्र साउद, रीता सैँजु, सुवास गिरी, सुजिता सिवाकोटी, बलबहादुर राई, सञ्जीवजंग क्षेत्री, आर्यसुमन खड्का, रोशन लोहोरुङ राई, सुनिल राई, उज्जवल राई, विवेक कटुवाल, प्रीतिसा अधिकारी, कृष्ण चौधरीलगायत कलाकारको अभिनय छ।
त्यस्तै कोरसमा नोर्देन ख्युङ्वा लामा, रक्षा पाण्डे, अनुज्ञा रेग्मी, सविना गिरी, सलिना खत्री, किसम वीर विक्रम थापा, अभिषेक राई र सुनिल खड्का छन् भने प्रत्यक्ष वाद्यवादन अंकित खड्का, सागर खाती, मिलन कार्की, सुदीप खतिवडा र विक्रम श्रेष्ठ छन्।
उमेश तामाङ कार्यकारी निर्माता रहेको नाटकमा संगीत संयोजन अनुपम शर्माले गरेका हुन्।
यस नाटक काठमाडौंमा मात्र नभई भारत र बांगलादेशमा भएका महोत्सवमा मञ्चन भइसकेको छ। सन् २०१२ मा मण्डला थिएटर नेपालले बांगलादेशको ‘रंगो हर्षे, बिंगो वर्षे नाट्य महोत्सव’मा पहिलो पटक मञ्चन गरेको थियो। सोही वर्ष नेपालको ‘काठमाडौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ र मण्डला नाटकघरको उद्घाटनमा समेत नाटकको मञ्चन भएको थियो। मण्डला नाटक घरमा यो नाटक तीन पटक मञ्चन भइसकेको छ।
यस्तै सन् २०१७ मा भारतको राष्ट्रिय नाट्य विद्यालयद्वारा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय नाट्योत्सव ‘भारत रंग महोत्सव’मा पछिल्लो मञ्चन गरिएको नाटकलाई थिएटर मल, काठमाडौंको प्रेक्षालय उद्घाटन समारोहमा समेत मञ्चन गरिएको थियो। सन् २०१९ मा आयोजित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नाटकलाई पुस्तकका रूपमा समेत सार्वजनिक गरिएको छ।
नाटक कात्तिक १८ देखि २७ गतेसम्म मञ्चन हुनेछ।