सिनामंगलस्थित पुरानो घर थिएटरमा नाटक ‘एन इन्सपेक्टर कल्स’ मञ्चन भइरहेको छ।
डिटेक्टिभ जनरामा आधारित नाटक जेबी प्रिस्टलीको सन् १९४५ मा प्रकाशित नाटक हो। यो नाटकले नैतिकतावादी ‘मोरालिटी प्ले’ को भूमिका खेल्छ।
सन् १९१२ को ब्रिटिश समुदायलाई आधार बनाएर लेखिएको यो नाटक २०२२ मा नेपालमा रुपान्तरण गर्दा पनि नाटकको विषयवस्तु उत्तिकै सान्दर्भिक छ।
नाटक एउटा धनाढ्य मल्ल परिवारमा भइरहेको उत्सवबाट सुरु हुन्छ। मल्ल परिवारकी एक्ली छोरी शिला मल्लको इन्गेजमेन्ट समाजमा आफूभन्दा माथिल्लो दर्जामा गनिने शिशिर विक्रम राणासँग हुँदैछ। यही माहोलमा घरको डोरबेल बज्छ। एउटा पुलिस इन्स्पेक्टर भित्र छिर्छ।
राजकमल फकिरको अनुवाद तथा निर्देशन गरेको नाटकमा आभास अधिकारी, विजय ताम्रकार, सारदा अधिकारी, सरिता भुजेल, सदीन लुइँटेल, शिशिर सिवाकोटी, मोनिका थापालगायत कलाकारको अभिनय छ।
नाटक मंसिर १२ गतेसम्म प्रत्येक दिन साँझ ५ः३० बजे र शनिबार १ः३० बजे पनि मञ्चन हुनेछ। मंगलबार भने यसको मञ्च हुने छैन।