काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण सुरू भएको छ।
शुक्रबार थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि तथा सहभागीबीच महोत्सवको उद्घाटन भएको हो।
'सामाजिक रूपान्तरणका लागि रंगमञ्चः विविधिताको उत्सव' भन्ने नाराका साथ भारतका प्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शवाना आजमीको विशेष आथित्यतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका हुन्।
समारोहमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी, जिआइजेड नागरिक शान्ति सेवाकी स्टेफिन थेइसलगायतले महोत्सवलाई शुभकामना दिए।
भारतबाट महोत्सवका लागि आएकी अभिनेत्री शवाना आजमीले नेपालमा आफू नाटकको महोत्सवमा सहभागी हुन पाउनु खुसीको कुरा भएको बताइन्।
'नेपालमा कलाकारहरू मिलेर आफैं नाटकघर निर्माण गर्नु र नियमित नाटक मञ्चन हुनु। यस्तो महोत्सव आँट्नु आश्चर्यजस्तो लागेको छ। यो निकै सराहनीय कार्य हो, यसलाई निरन्तरता दिनुहोला,' उनले भनिन्।
महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश छन्।