नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को आठौं दिन भारत र अर्जेन्टिनाको नाटक मञ्चन तथा विविध कार्यक्रम हुँदैछ।
शुक्रबार राजेश सिंह निर्देशित भारतको नाटक ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मञ्चन हुँदैछ।
९० मिनेट लामो नाटक युद्धको समयमा कुनै एकान्त ठाउँमा भेटिएका तीन व्यक्तिहरूको वरिपरि घुम्छ। उनीहरूबीचको मतभेद र भिन्नतालाई नाटकमा प्रस्तुत गरिएको छ। याे नाटक मध्यान्ह १२ बजे र अपरान्ह ४ बजे मञ्चन हुँदैछ।
त्यस्तै साँझ ६ बजे कस्ट्यान्जा विटअफ निर्देशित अर्जेन्टिनी नाटक ‘नोम्याड’ मञ्चन हुँदैछ। यो सांगीतिक तथा शारीरिक शैलीको नाटकले सामाजिक परिवर्तनका अभियान र त्यसको गतिलाई प्रस्तुत गर्नेछ।
शुक्रबार प्यानल छलफलको विषय रंगमञ्चको समीक्षा रहेको छ। रंगमञ्चको समीक्षाको आवश्यकता, यसको प्रभाव, वर्तमान समीक्षा परिपाटी लगायतका विषयमा अन्तरक्रिया हुनेछ। रंगकर्मी र समीक्षकहरूबीचको अन्तरक्रिया कार्यक्रम दिउँसो १ बजे हुनेछ।
चौतारी नाटक र सांगीतिक कविता
शुक्रबार नै नेपाल र भारतको कलाकारहरू मिलेर चौतारी नाटक ‘प्लेब्याक थिएटर’ पनि हुनेछ। यसमा दर्शकहरूले आफ्ना जीवनमा भोगेका, देखेका वा सुनेका घटना र अनुभूतिलाई कलाकारमाझ सुनाउनेछन्। दर्शकले सुनाएका सन्दर्भलाई कलाकारहरूले तत्काल विभिन्न विधि प्रयोग गरेर नाटकीय स्वरुपमा ढालेर प्रस्तुत हुनेछन्।
त्यस्तै साँझ ७ः३० बजे विभिन्न युवा कवि तथा संगीतवाधको कविता र संगीतको संगम हुनेछ। बिहान ८ बजेदेखि ‘सुजुकी एण्ड भ्युप्वाइन्ट’ शीर्षकमा कार्यशाला सुरु भइसकेको छ।
मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश छन्।