नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण सम्पन्न भएको छ।
‘सामाजिक रुपान्तरणका लागि रंगमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ मंसिर ९ गतेदेखि सुरु भएको फेस्टिभल मण्डला थिएटरमा शनिबार सम्पन्न भएको हो।
समापन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामालगायत रंगकर्मीहरूको उपस्थिति थियो।
समापनको दिन दिउँसो १ बजे ‘रंगमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा प्यानल छलफल भएको थियो। उक्त कार्यक्रममा दयाहाङ राई, सुरक्षा पन्त, मीन भामका साथ खगेन्द्र लामिछानेले अन्तरक्रिया गरेका थिए।
त्यस्तै समापन नाटकको रुपमा आयोजक मण्डला थिएटरको ‘कुभिण्डोको कथा’ को प्रिमियर मञ्चन भयो। प्रनिश मगरले लेखेको नाटकलाई दयाहाङ राईले निर्देशन गरेका हुन्।
नौ दिनसम्म चलेको महोत्सवमा १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास भएका थिए।