शैली थिएटरले १४ औं राष्ट्रिय बाल नाटक महोत्सव आयोजना गर्ने भएको छ।
नाट्य क्षेत्रमार्फत् बालबालिकाको विकासका लागि थिएटरले १३ वर्षदेखि राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आएको छ।
कोरोना महामारीका कारण विगत दुई वर्ष भर्चुअल रूपमा बाल नाटक महोत्सव सम्पन्न गरेको शैलीले यस वर्ष भौतिक उपस्थितिमै महोत्सव गर्न लागेको हो।
रातोपुलस्थित शैली थिएटर र कमलपोखरीस्थित रुसी सदनमा महोत्सव माघको अन्तिम हप्तामा वा फागुन महिनाको दोस्रो हप्तामा सुरू हुने विज्ञप्तिमा उल्लेख छ। यस महोत्सव १० दिनसम्म चल्नेछ।
महोत्सवमा सहभागिता जनाउन व्यक्ति, संस्था, नाट्य समूह तथा विद्यालयलाई पुस १० देखि २५ गतेसम्म नाटकको आलेख (स्क्रिप्ट) बुझाउन आह्वान गरिएको छ।
सहभागिताका लागि भौतिक रुपमा शैली थिएटर र रुसी सदनमा तथा शैलीको आधिकारिक इमेलमा वा अनलाइन माध्यमबाट नाटकको आलेख पठाउन सकिने बताइएको छ। यसका लागि दर्ता शुल्क दुई हजार रुपैयाँ तोकिएको छ।
संयोजक सविन न्यौपानेका अनुसार महोत्सवमा सहभागिता जनाउन प्रतियोगी र अप्रतियोगी दुई किसिमले सहभागी हुन सक्नेछन्।
बालबालिकाको विषयमा समेटिएको र यसअघि मञ्चन वा प्रकाशित भएका नाटकसमेत महोत्सवमा समावेश गराइनेछ। जुनसुकै उमेर समूहले अभिनय गर्नसक्ने नाटक एकल वा समूहगत रुपमा कम्तीमा ३० मिनेट र बढीमा ७० मिनेट समयावधिको हुनुपर्नेछ।
एउटा नाटकमा पर्दा अगाडि र पछाडि गरी बढीमा १५ जना सम्मको समूह मात्र सहभागी हुन पाइने छ। त्यस्तै नाटकको आलेख जुनसुकै भाषामा दर्ता गरिए पनि नेपालभित्र बोलिने मातृभाषामा भएका नाटकका आलेख छनोटमा प्राथमिकतामा राखिनेछ। भाषाविहीन नाट्य प्रस्तुतिको हकमा भने पूर्ण विवरणसहितको कथासारलाई आलेखको रुपमा दर्ता गराउन सकिनेछ।
शैलीको छनोट समितिले अन्तिम मितिसम्म प्राप्त भएका नाटकका आलेखहरू प्रतियोगी र अप्रतियोगी गरी विभाजन गररे ५ देखि १० दिन भित्रमा सार्वजनिक गर्नेछ। छनोट भएका नाटकका मञ्चनका लागि आवश्यक मञ्च, ध्वनि उपकरण, प्रकाश तथा आयोजकसँग उपलब्ध नाट्य सामग्रीहरू निःशुल्क उपलब्ध गराइनेछ।
महोत्सव समापनसँगै उत्कृष्ट नाटक, उत्कृष्ट अभिनेता (महिला, पुरुष), उत्कृष्ट निर्देशक, प्रोत्साहन, पब्लिक च्वाइस, अनुशासित नाटक गरी ७ वटा विधामा सम्मानपत्रसहित क्रमशः १०, ७ र ५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ।