राजा पश्रामु युद्दमा गएका हुन्छन्। युद्दमा उनको निधन हुन्छ। त्यसपछि रानी यम्बावति उनको सती जान्छिन्। खासगरी गुरूङ समुदायमा प्रचलित घाटु नाचमा यही कथा प्रदर्शन गरिन्छ।
त्यसपछिको कथा के होला?
पौराणिक कथामा आख्यान जोड्दै नाटक 'देउराली डाँडी' ले घाटुको अन्तिम अध्याय मञ्चन गरिरहेको छ। घाटु नाचको प्रत्येक खण्डलाई डाँडी भनिन्छ। त्यसैलाई जोड्दै यो नाटकको नाम 'देउराली डाँडी' राखिएको हो।
यो नाटकले घाटु नृत्य प्रदर्शन गर्ने एउटा गाउँको कथा भन्छ। धेरै वर्षअघि फैलिएको महामारीले गाउँका सबै पुरूष परदेश गएका छन्। खेत बाँझा छन्। पानी परेको छैन। देउराली उजाडिएको छ। यस्तो परिवेशमा पनि त्यहाँका महिला संघर्ष गरेर बाँचिरहेका हुन्छन्। महामारीको लक्षण पुनः देखिन थालेपछि उनीहरूको संघर्षको औचित्यमा प्रश्न चिन्ह खडा हुन्छ। महिलाहरू पनि अब वैदेशिक रोजगारीमा जानुपर्ने डरले त्रसित छन्।
संघर्षको अन्तिम चरणमा महिलाले घाटु नाचको कथा र गाउँको पुरानो जीवनशैली खोज्ने साहस र आशाको कथा नै 'देउराली डाँडी' हो।
वान वर्लड थिएटर नेपालको संयोजनमा तयार भएको नाटक ‘देउराली डाँडी’ को मञ्चन पिंगलास्थानस्थित स्टुडियो थिएटरमा भइरहेको छ। रंगकर्मी सहलेशको लेखन तथा अमेरिकी रंगकर्मी रोज स्वाइट्जको निर्देशन रहेको यो नाटक माघ १५ गतेसम्म चल्नेछ। नाटकमा दिया मास्के, पशुपति राई, मेनुका प्रधान, बिनिता थापा मगर, रन्जना भट्टराई र सरस्वती चौधरीको अभिनय छ।
नाटककी निर्देशक रोज स्वाइट्जका अनुसार लम्जुङको नाल्मा गाउँमा उनले गरेको घाटु नाचको अध्ययन-अनुसन्धान आधारमा यो नाटक बनाइएको हो।