जगदिश घिमिरेको उपन्यास 'साविती' बाट प्रभावित भई तयार भएको नाटक 'दि कन्फेसन' नयाँ दिल्लीमा मञ्चन भएको छ।
नााटक आइतबार नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाको मञ्चमा मञ्चन भएको हो। नेसनल स्कुल अफ ड्रामा र नेपालका लागि भारतीय दूतावासको संयुक्त प्रयासमा मञ्चन भएको नाटकलाई विमल सुवेदीले निर्देशन गरेका हुन्।
गरिबलाई केन्द्रमा राखी शासकमाथि गरेका अनेक प्रश्नहरूको संगालोको उपन्यास सन् २०१३ मा विमल सुवेदीले 'साविती' नाटक तयार गरेका थिए।
जगदिश घिमिरेले आफ्नो उपन्यासमाथि नाटक बनेका हेर्न लालसा अभिव्यक्त गरेपछि रोगसँग जुधिरहेका उनै घिमिरेको सम्मानमा यो नाटक तयार भएको थियो। त्यतिबेला एक शो भएर बन्द भएको थियो।
अहिले नाटकलाई निर्देशक विमल सुवेदीले समसामयिक बनाउँदै नयाँ स्वरूपमा प्रस्तुत गरेका हुन्। भारतमा मात्र यो नाटकले ४ पटक स्टेज टेकिसकेको छ।
यो नाटक भारतमा सन् २०१८ मा नयाँ दिल्लीकै साउथ एसियन युनिभर्सिटीमा मञ्चन भएको थियो। यसको एक वर्षपछि यो नाटक भारतको जम्मुकश्मिरमा मञ्चन भएको थियो। यही वर्ष दुई पटक मञ्चन भएको नाटक केही दिनअघि आसामको लोर्गी इन्टरनेसनल थिएटर फेस्टिभलमा मञ्चन भएको थियो भने आइतबार भारतकै प्रतिष्ठित मानिने नेसनल स्कुल अफ ड्रामाको मञ्चमा मञ्चन भएको हो।
अनुराधा मजुमदारले मुख्य भूमिका निर्वाह गरेको नाटकले एकालापको शैलीमा यौन हिंसादेखि सार्वजनिक सरोकारका यावत् विषयमा प्रश्न गर्छ। नाटकले पुरुष र पुरुषवादी सत्ताको नियन्त्रणमा रहेकी महिलाको विद्रोहको कथा प्रस्तुत गर्छ। तर कथा वाचनका लागि निर्देशक विमल सुवेदीले एक्सरे, नुन, स्लाइन पानी र रगतसहितको सेट बनाएका छन् जसले संवादको वजनलाई गहिरो गरी दर्शकसँग अन्तर्क्रिया गर्छन्।
धेरै वर्षपछि नाटक हेर्ने मौका पाएको बताउँदै भारतका लागि नेपाली राजदूत शंकर शर्माले नाटक प्रभावशाली लागेको प्रतिक्रिया दिएका थिए।
‘धेरै वर्ष पहिले मैले सर्वनाममा नाटक हेरेको थिएँ। धेरै वर्षपछि फेरि आज यो दि कन्फेसन हेरेँ। यसको प्रस्तुति र सन्देश दुवै उत्कृष्ट लाग्यो,’ उनले भने।
नेसनल स्कुल अफ ड्रामाका पूर्व निर्देशक तथा भारतको प्रतिष्ठित पुरस्कार पद्यश्री विजेता रामगोपाल बजाजले नाटकले आफूहरूलाई चुनौती दिएको बताए।
‘अनुराधा कक्षामा पनि सदा प्रश्न गर्थिन्। तर आज नाटकमार्फत् हामीलाई प्रश्नसँगै चुनौती दिएर गएकी छन्। नाटकको विषय एकदमै राम्रो थियो र प्रस्तुति झनै सुन्दर,’ उनले भने।
निर्देशक विमल सुवेदीले नाटकलाई प्राप्त प्रतिक्रियासँगै नाटकको माध्यमबाट दुई देशलाई जोड्ने काम पनि भएकाले आफ्ना लागि यो विशेष भएको बताए। उनी १० वर्षअघि नेसनल स्कुल अफ ड्रामा अध्ययनरत थिए।
नाटकमा अनुराधा मजुमदारलाई साजन सुनुवार र प्रजित बस्यालले साथ दिएका थिए भने जेनी सुनुवारले सहायक निर्देशन गरेकी थिइन्। चक्र पुलामीले प्राविधिक रुपमा साथ दिएका थिए। नाटक लेखनमा निर्देशक सुवेदीलाई सुरज सुवेदीले साथ दिएका छन्।