अनुप बरालले 'यौटा सपनाको अवसान' शीर्षकको नाटक निर्देशन गर्ने भएका छन्।
निर्देशक बरालले सामाजिक सञ्जालमा पोस्टर सेयर गर्दै नाटकले खुसी र सुखको परिभाषालाई बहसमा ल्याउन चाहेको बताएका छन्। बुधबार सार्वजनिक पोस्टरले टाउको निहुर्याएको चरित्रको हतास मनस्थितिलाई संकेत गरेको छ।
‘यौटा सपनाको अवसान’ अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’ को नेपाली अनुवाद हो। आर्थर मिलर लिखित नाटकलाई विप्लव प्रतीकले नेपालीमा अनुवाद गरेका हुन्।
नाटक विधातर्फ पुलित्जर पुरस्कार र टोनी अवार्ड जित्न सफल यो नाटकलाई २० औं शताब्दीको उत्कृष्ट नाटकमध्ये एक मानिन्छ। अमेरिकामा ७ सयभन्दा धेरै पटक मञ्चन भएको नाटक विश्वका धेरै देशमा मञ्चन भएको छ।
नाटकमा शेखर चापागाइँ, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विजय बराल, विकास जोशी, रोयदीभ श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ।
थापागाउँस्थित मण्डला थिएटरमा चैत १० गतेदेखि सुरू हुने नाटक १ महिनासम्म चल्नेछ। नाटक एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा गोविन प्रोडक्सनका गोविन्द पराजुलीले निर्माण गरेका हुन्।
अनुप बरालले तीन वर्षअघि मान्छेको लासमाथि भोज गर्ने राजनीतिज्ञलाई तिखो व्यंग्य गर्ने नाटक ‘महाभोज’ निर्देशन गरेका थिए।