बुद्ध थिएटर फेस्टिभलको तेस्रो संस्करण चैत १३ गतेदेखि सुरू हुने भएको छ।
जमलस्थित सांस्कृतिक संस्थानमा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ।
गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्च मार्फत विश्वमाझ चिनाउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको बताइएको छ।
महोत्सवका निर्देशक पुस्कर गुरुङका अनुसार फेस्टिभलमा नेपालका ६ नाटकहरू मञ्चन हुनेछन्। साथै फेस्टिभलमा माया थापाको निर्देशन तयार भएको नृत्य नाटीका ‘चण्डालीका’ समेत मञ्चन हुनेछ।
महोत्सवको उद्घाटन समारोहमा रंगकर्मी अनुप बराललाई ५० हजार धनराशीको ‘डबली अवार्ड’ प्रदान गरिनेछ।
यसअघि फेस्टिभलमा विदेशी नाटकहरू पनि समावेश गराइएको थियो। राम्रो कथावस्तु भएको नाटक नआएपछि यसवर्ष विदेशी नाटक नसमेटिएको निर्देशक गुरुङले बताए।
यो फेस्टिभल बाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान र डबली थिएटरको आयोजनामा हुन लागेको हो।