नेपाल र नेपालीलाई हवाईमार्गबाट जोड्ने बुध्द एयरले २० वर्षे यात्रा पुरा गरेको छ । हवाई सुरक्षाको जोखिमहरुलाई न्यूनिकरण गर्दै यात्रुहरुलाई आरामदायी हवाई यात्राको अनुभुति गराउने मुख्य लक्ष्यका साथ बुध्द एयरले आफ्नो सेवा थालेको थियो ।
बुध्द एयरले आफ्नो प्रथम उडान अमेरिकामा निर्मित नयाँ जहाज बीच १९००‘डी’ बाट पर्वतीय श्रृंखलाको मनोरम यात्राबाट शुभारम्भ गरेको थियो। सो उडान करिब १ घण्टाको थियो ।
उक्त उडानलाई ‘एभरेष्ट एक्सपेरियन्स उडान’ले चिनिन्छ ।
मुलुकका सुगम विमानस्थलहरुमा उडान भर्ने बुध्द एयरले ६३ प्रतिशत बजार हिस्सा ओगटेको छ। एउटा विमानबाट आफ्नो सेवा शुरु गरेको बुध्द एयरसँग हाल २ वटा बिचक्राफ्ट, ७ वटा एटीआर एयरक्राफ्ट रहेका छन् ।
यसै सन्दर्भमा बुद्ध एयरका प्रबन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतसँग गरिएको कुराकानी-
बुद्ध एयरको बीस वर्षे यात्रालाई कसरी सम्झनुहुन्छ?हामी औद्योगिक तथा व्यापारिक घरानाका मान्छे होइनौं। हाम्रो परिवारको विरासत व्यापार होइन। हामीले व्यापार व्यवसाय गर्नुपर्ने योजनामा बनायौं तर के गर्ने भनेर हामीसँग केही पुरानो त केही थिएन। जुन गरेपनि सुरुवात गर्नुथियो।
त्यही क्रममा हामीले एयरलाइन्स खोल्यौं। उद्यम सुरु गर्ने क्रममा हामीले चुनौतिपुर्ण अवस्थामा हामीले सुुरु गरेका थियौं। उड्डयन क्षेत्र भर्खरैमात्र निजी क्षेत्रमा गएको। सुरु गर्दा हामीले जति चुनौतिको कल्पना गरेका थियौं त्यो भन्दा ठुलो चुनौतिको सामना गर्नुपर्यो। भर्खंर राज्यको नियन्त्रणबाट बाहिर आएको क्षेत्रमा हात हाल्दा ति स्वभाविक पनि थिए।
हामीले केही स्तरीय व्यापारको खोजीमा थियौं। हाम्रो सम्पर्क पाइलट इन्जिनियर सर्कलमा थियौं र त्यही अनुसार बुद्ध एयर जन्मियो। अहिलेको पूर्वाधार धेरै जिर्ण भएको छ, कलंकीबाट एयरपोर्ट जान दुई घण्टा जाम हुन्छ।
तर हामी सस्तोमा काठमाडौंबाट विराटनगर उडाइरहेका छौं। हामी लामो समयदेखि मार्केट लिडर छौं यसमा हामीले विभिन्न चुनौतिसँग सामना गरेर गरेको मेहनतले काम गरेको छ जस्तो लाग्छ।
बुद्ध एयरले त्यस्तो के सेवा सुविधा दिन्छ जसको कारण यात्रुहरुको रोजाईमा पर्छ?हामीले पहिलो कुरा त यात्रुहरुले के चाहन्छन् त्यसलाई ध्यान दिन्छौं। कुनै समय यस्तो थियो कि काठमाडौंबाट विराटनगर जान जहाजको टिकट लिनको लागि शोर्स लगाउनुपर्ने अवस्था थियो हामीले सहजै पाइने बनायौं। बजारमा मागअनुसार विमान पनि थप गर्दै गयौं।
समय अनुसार सेवा र सुविधा पनि थप गर्दै गयौं जसको कारण यात्रुहरुले रोजाईमा बुद्ध एयर पर्यो। सुरक्षित, भरपर्दो हवाई यात्राको पर्याय नै बुद्ध एयर बन्यो जसले गर्दा यात्रुहरुले हामीलाई रोजे।
हवाई यात्राको संस्कार नेपालमा कस्तो छ?हवाई यात्रा गर्ने नेपालीहरुको संख्या निकै बढेको छ। पहिलेपहिले हवाई यात्रामा जाने भनेका सिमित जागिरे र विदेशीमात्र हुन्थे तर पछिल्लो समय यो मासमा पुगेको छ। यसको एउटा कारण त कमजोर सडक पूर्वाधार हो। पछिल्लो समय विग्रदो र असुरक्षित सडक यातायातको कारणले पनि यस्तो प्रवृत्ति बढेको हो।
यसमा एयरलाइन्स कम्पनी र बुद्ध एयरको भुमिका कस्तो छ?यो परिवर्तनमापनि बुद्ध एयरको भुमिका लिडरकै छ। हामीले उडान गरेका क्षेत्रमा सिन्डिकेटको अन्त्य गरिदियौं। महंगो यात्रालाई सस्तो बनाइदियौं जसको कारण हवाई यात्रा गर्नेहरुको संख्या पनि बढ्यो। पहिले हवाई भाडा निश्चित हुन्थ्यो न घट्थ्यो न बढ्थ्यो। तर अहिले हेर्नुस काठमाडौंबाट विराटनगरमा २ हजार रुपैयाँमा उडाइरहेका छौं हामीले। टिकटको मूल्य बजारले नियन्त्रण गर्न थालेको छ। अर्थात माग र आपूर्तिको समिकरणमा मूल्य निर्धारण हुन थालेको छ। यो स्वच्छ प्रतिस्पर्धाको वातवरण बुद्ध एयरले बनाएको हो।
बुद्ध एयरले दुर्गम क्षेत्रमा किन उडान नगरेको हो?हामी कुनैपनि काम राम्रोसँग गर्नुपर्छ भन्नेमा विश्वास गर्छौ। त्यसैले त हामीले व्यापार गर्दा यही एउटा बाहेक अरुमा कतैपनि हात हालेका छैनौं। सुगम र दुर्गमका उडान भनेका फरक विशेषताका हुन्छन्। त्यसको लागि फरक विमान, जनशक्तिको व्यवस्थापन गर्नुपर्छ।
त्यसमा जाँदा दुईतिर खुट्टा हुने डर हुन्छ। अनि दुवैतिर राम्रो नहुनपनि सक्थ्यो त्यसकारण हामीले यसबारेमा सोचेनौं। अर्को कुरा हामीले जहाँ उडान गरेका छौं त्यहाँको हवाई यात्राको क्षेत्रमा क्रान्ति नै गरेका छौं यो हामी गर्वका साथ भन्छौं। भन्नेमात्र होइन यसलाई तथ्यले पनि प्रमाणित गरेका छन्।
पछिल्लो समय हवाई यात्रामा भनेको समयमा उडान हुँदैन भन्ने आरोप छ, यसमा तपाईको भनाइ के हो?व्यवस्थापन हुनपरो नि त्यहाँ, पूर्वाधार निर्माण र व्यवस्थापनको अभावले यस्तो अवस्था आएको हो। यसमा एयरलाइन्सलाई दोष दिएर हुदैन। अहिले कलंकीबाट तीनकुने पुग्न २ घण्टा लाग्ने अवस्थाको पूर्वाधार भएको देशमा हामीले त डेलिभर त गरेका छौं। पर्यटन मन्त्रालयमा आउने मन्त्रीले गर्नुपरो नि त्यसमा। तीनमहिनामा समाधान गर्नसक्छ मन्त्रीले चाहेमा। त्यस्तो मान्छे आउनपरो।
एयरपोर्ट हेर्न जानुहोस, दिनमा एकसय विमान उडान अवतरण गराउन मिल्ने ठाउँमा पाँच सय विमान उडानअवतरण भइरहेका छन्। यस्तोमा पनि हामीले कम्तिमा पनि उडाइ त रहेका छौं। हामीले प्रतिदिन ४ हजार यात्रुलाई गन्तव्यमा प¥याइरहेका छौं रातिको १० बजे भएपनि उडाइरहेका छौं। यसमा एयरलाइन्सलाई लान्छना लागनुको कुनै तुक छैन। हामीले पोखराबाट भैरहवा र भरतपुर उडाउँदा त डिले हुँदैन।
आन्तरिक गन्तव्य विस्तार कहाँ कहाँ हुँदैछ?हामी अब छिट्टै जनकपुरमा ७२ सिटे एटिआर उडाउँदै छौं। त्यस्तै राजविराजमा पनि विमानस्थल उड्नेवित्तिकै उडान गर्दै छौं। त्यस्तै सुर्खेत पनि उडान गर्ने तयारीमा छौं। अहिले पनि पोखराबाट भरतपुर, भैरहवा भर्खरै सुरु गरेका छौं। तर सुर्खेतमा पहिले नै घाटा भएर उडान बन्द गरेका थियौं तर त्यहाँ ६ नम्बर प्रदेशको राजधानी त्यहाँ हुने भएकोले जीवनबहादुर शाहीले आग्रह गरेका छन् त्यहाँ उडान गर्दै छौं।
अन्तर्राष्ट्रिय उडान पनि गर्ने तरखरमा हुनुहुन्छ, यस्को तयारी कस्तो हुँदैछ?हामीले अन्तर्राष्ट्रिय उडानको लागि तीव्र तयारी गरिरहेका छौं। यही डिसेम्बरसम्म पुरा गरिसक्छौं।
अहिले व्यवसायिक योजना बनाइरहेका छौं। त्यसपछि हामीले जहाज निर्माता कम्पनी एयरबस, पर्यटन मन्त्रालय, क्यान र स्लट संचालन हुने ठाउँका नियमक निकायहरुमा पनि कुरा अगाडि बढाउँछौं। र सन् २०२१बाट हामी उडान गर्छौ।
कहाँ–कहाँ उडान गर्छ बुद्ध एयरले?हामी पोखरा विमानस्थल निर्माण भएपछि त्यहाँबाट भारतका विभिन्न सहर, चीनमा उडान गर्छौ। हामी सुरुमा तीनवटा विमानबाट उडान सुरु गर्छौ त्यसपछि विमानहरु थप गर्दै जान्छौं।
पोखराको व्यवसायिक उडानको सफलता कति नजिक होला?अहिले नेपालमा ६ लाख पर्यटक आउँछन् विदेशी त्यसमा ३ लाख पोखरा पुग्दारहेछन्। त्यो संख्या खासै ठुलो होइन। यसको लागि हामीले केही रिफर्म गर्नुपर्छ। पोखरा विमानस्थलले चालिस लाख यात्रुलाई वर्षमा सेवा दिनसक्छ।
हामीले गरेको अध्ययनमा अबको १० वर्षभित्र २५ लाख पर्यटक पोखराबाट इन आउट गराउनसकिन्छ भनेका छन्। यसको लागि हामीले आजसम्म नेपाललाई शाहासिक भन्दै आएको पर्यटनलाई परिवर्तन भनी लेजर टुरिज्मको रुपमा विकसित भने गर्नैपर्छ। २५ लाख भनेको धेरै ठुलो संख्या हो। तर यसको लागि सरकारले केही पर्यटकीय गन्तव्य भने विस्तार गर्दै छौं।
त्यसरी आउने २५ लाख पर्यटकमा हामी कम्तिमा पनि ३० प्रतिशतलाई बुद्ध एयरले सेवा दिन्छ। यसमै हाम्रो सफलता हुन्छ। नेपालको उड्डयन क्षेत्रमा आमूल परिवर्तन नै ल्यायौं। शतप्रतिशत कर तिरेर पनि यात्रुलाई २ हजारमा उडाउँछौं। अघिलो पटकमात्र हामीले प्रत्यक्ष करमात्र ३० करोड तिरेका थियौं। तर हामीले यात्रुलाई २ हजारमा पनि उडाएका छौं।