जिल्ला युवा समितिको कार्यालयले तीनवटा युवा समूहलाई उद्यम व्यवसाय सञ्चालनका लागि बिना ब्याज ऋण प्रदान गरेको छ ।
सरकारको युवा उद्यम विकास कार्यक्रमअन्तर्गत समितिले जिल्लामा रहेका सहकारी मार्फतप्रति व्यक्ति ५० हजारका दरले तीन समूहका ३० जना युवालाई १५ लाख बिना धितो ऋण प्रदान गरेको हो ।
समितिले १६ वर्षदेखि ४० वर्ष ननाघेका युवालाई स्वदेशमै बसी कृषि क्षेत्रको विकाससँगै उद्यमी बनाउने उद्देश्यअनुसार पहिलो वर्षको कार्यक्रमबाट लगानी गरेको जिल्ला युवा समितिका अध्यक्ष नवीन खतिवडाले बताउए। ती हरेक समूहमा १० जना शिक्षित युवा संलग्न छन् । उनीहरुले समूहमा प्राप्त गरेको रकम सामूहिक रुपमा व्यवसाय सुरुवात गरी लगानी गर्नुपर्ने प्रावधान रहेको छ ।
यसरी लगानी गरिएको ऋण ६÷६ महिनामा किस्ता बुझाइ पाँच वर्षमा बिना ब्याज सहकारीमार्फत फर्काउने व्यवस्था गरिएकोे अध्यक्ष खतिवडाले बताए। तोकिएको समयमा फर्काउन नसके सहकारीले सहकारीको नीतिअनुसार असुल गर्नेछ ।
समितिले यस वर्ष मौरीपालन, बाख्रापालन र माटो बिनाको तरकारी खेतीमा ऋण लगानी गरेको हो । सदरमुकाम म्याङलुङमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थामार्फत जनचेतना अभियानसँग आवद्ध रहेका १० जना युवालाई माटो बिनाको तरकारी खेतीका लागि जनही ५० हजार प्रदान गरेको समितिले जनाएको छ ।
यस्तै मनकामना सामुदायिक विकास सस्थासँग आवद्ध १० जना युवालाई मौरीपालन व्यवसायका लागि र तम्फुला बचत तथा ऋण सहकारी संस्थामार्फत सल्लेरी पशुपालन समूहसँग आवद्ध रहेका १० जना युवालाई बाख्रापालन व्यवसायका लागि जनही ५० हजार प्रदान गरेको अध्यक्ष खतिवडाले बताए।
राष्ट्रिय युवा परिषद्ले युवा उद्यमी बनाउन नेपाल सरकारको स्वीकृति र अनुदान लिई जिल्ला समितिमार्फत प्रस्तावना आह्वान गरेको थियो । सोही आधारमा जिल्लाले समूह छनोट गरी परिषद्मा पठाएको थियो । परिषद्ले उक्त रकम समूहलाई सिधैं उपलब्ध गराउन नमिलेपछि जिल्लामा रहेका सहकारी संस्थामार्फत प्रदान गरेको हो ।
उपलब्ध रकम हिनामिना हुन नदिन र उद्यमसिलताको क्षेत्रमा खर्च भए नभएको बारेमा नियमित अनुगमन राष्ट्रिय युवा परिषद्ले जिल्ला युवा समितिलाई निर्देशन दिएको छ । स्वदेशमै बिना ब्याज र बिना धितो ऋण पाएपछि सामूहिक रुपमा व्यवसायमा लागेर स्वरोजगार बन्न युवालाई प्रेरित गर्ने ध्येयले ऋण उपलब्ध गराइएको अध्यक्ष खतिवडाले बताए।