उद्योगी विनोद चौधरीले अर्थतन्त्रको वृद्धिका लागि निजी क्षेत्रलाई निर्णायक भूमिका दिइनुपर्ने बताएका छन्।
एक विज्ञप्ति जारी गर्दै चौधरीले विश्वमा लोकतान्त्रिक शासन पद्धती र खुला बजार अर्थतन्त्र विवादरहित विषय भएको टिप्पणी गरेका छन्। हालै नेपाली कांग्रेसको समानुपातिक सूचीबाट सांसदको उमेदवार बनेका उनले कांग्रेस प्रवेश सम्वन्धमा पनि प्रष्ट्याउने प्रयास गरेका छन्।
‘विकासका लागि राजनीति एवं शासन प्रणालीको केन्द्रमा आर्थिक एजेण्डालाई राखिनुपर्छ भन्ने म स्पष्ट मान्यता राख्दछु’ उनले भनेका छन्। यसअघि २०४६ सालको राजनीतिक परिवर्तनपछि स्व.कृष्णप्रसाद भट्टराई र स्व. गिरिजाप्रसाद कोइरालासँग कामगर्ने शौभाग्य पाएको स्मरण गर्दै उनले त्यतिबेला चालिएको आर्थिक सुधारको परिणाम स्वरुप उच्च आर्थिक बृद्धिदर, निर्यात ब्यापार, राजश्व संकलन, विदेशी लगानी लगायतमा ऐतिहासिक उपलब्धी हासिल भएको चर्चा गरेका छन्।
‘अर्थतन्त्रको फराकिलो एवं उच्च बृद्धिका लागि निजी क्षेत्रलाई निर्णायक भूमिका दिइनुपर्छ भन्ने मान्यता स्थापित गर्न म संघर्षरत रहँदै आएको छु’ चौधरीले विज्ञप्तिमा भनेका छन् ‘आर्थिक विकासको इन्जिन निजी क्षेत्र नै हो भन्ने सोंचलाई व्यवहारमा कार्यान्वयन गर्न मैले सक्दो योगदान पुर्याउनेछु।’
पहिलो संविधानसभामा प्रतिनिधित्व गर्दा आफू समृद्ध नेपाल निर्माणका लागि उदार अर्थव्यवस्था एवं गतिशिल निजी क्षेत्रको पक्षमा सदनभित्र र सार्वजनिक रुपमा संघर्षरत रहेको उनले स्मरण गरेका छन्।
‘फरक–फरक पृष्ठभुमीबाट आएका सभासदहरुको उपस्थिति रहेको उक्त संविधानसभामा मेरा सम्पूर्ण प्रयास भावी संविधानमा आर्थिक विकासमा नकारात्मक प्रभाव पर्नेगरी कुनै बुँदा नलेखियोस् भन्नेतर्फ केन्द्रित थियो’ चौधरीले भनेका छन्।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चहरूमार्फत राष्ट्रको प्रतिष्ठा अभिबृद्धि र लगानी प्रवर्धनलाई आफ्नो प्रमुख एजेण्डा बनाउँदै आएको उनले बताएका छन्।
‘यस्ता मञ्चहरुमा मेरो जोड नेपाल र नेपालीको स्वाभिमान एवं समुन्नत नेपाली अर्थतन्त्रको विकासमा केन्द्रित रहने गर्दछ’ उनले भने ‘वल्र्ड इकोनोमिक फोरमदेखि फोब्र्ससम्मका विश्वविख्यात अन्य फोरमहरुमा पनि नेपाललाई दक्षिण एसियाको नमूना राष्ट्रका रुपमा स्थापित गर्न सम्भव छ भन्ने बारेमा ध्यानकर्षण गराउँदै आएको छु।’