जिल्ला वन कार्यालय जुम्लाले जडीबुटीबाट रु ३० लाख राजश्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षको कात्तिक १५ गतेसम्ममा सो कार्यालयलले जडीबुटीबाट ३० लाख एक हजार ४५० राजश्व संकलन गरेको हो । बिशेषगरी यार्सागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत १६ प्रकारका जडीबुटीबाट सो रकमको राजश्व संकलन गरिएको जिल्ला वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए।
उक्त अबधिमा ७६ केजी ६०० ग्राम यार्सागुम्बा (जीवनबुटी), ६७६ केजी गुच्ची च्याउ, सतुवा ४५०, वन लसुन दुई हजार १६०, सेतक चिनी ३० हजार ७५०, साधारण च्याउ तीन हजार ९००, धूपी पात ४० हजार केजी संकलन गरिएको छ। अधिकारीहरुका अनुसार जसमा यार्सागुम्बा, सतुवा र वन लसुन संकलन भए पनि निर्यात भइसकेको छ।
त्यसैगरी, सुगन्धवाल ९००, पदमचाल २९ हजार ५००, काला दाना ३००, चिराइतो १००, पाषणवेद ११ हजार, विषजरा ९००, सुनपाती चार हजार ५००, अमलवेद छ हजार र अतिस १५० केजी गरेर कूल एक लाख ३१ हजार ३६२ केजी जडीबुटी संकलन भएकोमा एक हजार २०२ केजी ६०० ग्राम निर्यात भइसकेको वन अधिकृत श्रेष्ठको भनाइ छ ।
संकलित जडीबुटीमा प्रतिकेजी २५ हजार राजश्व दर भएको ७६ केजी ६०० ग्राम यार्सागुम्बाबाट मात्रै १९ लाख १३ हजार र प्रतिकेजी ३०० राजश्व दर भएको गुच्ची च्याउबाट दुई लाख दुई हजार ८०० र बाँकी रु आठ लाख ९५ हजार ६५० अन्य जडीबुटीबाट राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
गत आव ०७३÷७४ मा वन कार्यालय जुम्लाले रु ५८ लाख ८८ हजार २०१ राजश्व संकलन गरेको थियो । यो वर्षबाट व्यापारीलाई भने जटामसीको इजाजत दिन प्रतिवन्ध लगाइएको कार्यालयको भनाइ छ । रासस