चौधरी ग्रुपले नुडल्स बारको अवधारणासहित नेपालमा पहिलो पटक ‘वाइवाइ सिटी’ सञ्चालनमा ल्याएको छ। सिजी रिटेल प्रालिले पुल्चोकस्थित लबिम मलमा क्विक सर्भिस रेष्टुरेन्ट (क्यूएसआर)का रुपमा ‘वाइवाइ सिटी’ को आउटलेट सञ्चालनमा ल्याएको हो।
ग्रुपका प्रवन्ध निर्देशक निर्वाणकुमार चौधरीले उक्त आउटलेटको शुभारम्भ गरे। वाइवाइ चाउचाउलाई नवीनतम ढंगमा ग्राहकमाझ पस्कन ‘वाइवाइ सिटी’ को परिकल्पना ल्याइएको प्रवन्ध निर्देशक चौधरीले बताए।
ग्रुपका कार्यकारी निर्देशक तथा सिजी रिटेल प्रालिका प्रमुख कार्यकारी अधिकृत वरुण चौधरीले नवीनतम स्वाद, चुस्त सेवा र उपयुक्त वातावरणका कारण ‘वाइवाइ सिटी’ सबैको पहिलो रोजाई हुने दावी गरे।
भारत र नेपालमा गरी ‘वाइवाइ सिटी’ का १४ ओटा आउटलेट रहेका छन्। भारतको दिल्ली, सिलिगुडी, चण्डीगढ, हैदराबाद, कोलकाता, चेन्नाई, पुर्णे लगायतका सहरमा सञ्चालित ‘वाइवाइ सिटी’ निकट भविष्यमा नेपालको इटहरी, धरान, भरतपुर, पोखरा, विराटनगर, विर्तामोड तथा भारतको आग्रा, लखनउ, मुम्बई, देहरादुन लगायतका सहरमा सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ।
यस बाहेक आगामी पाँच वर्षमा अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, मलेसिया तथा मध्यपूर्वी देशहरुमा एक हजार पाँच सय ‘वाइवाइ सिटी’ सञ्चालनमा ल्याउने योजना कम्पनीले लिएको छ।
‘वाइवाइ सिटी’ मा क्लासिक, चप्सी, रोस्टेड तथा प्यान फ्राइडमा सोय गार्लिक, कुङपाउ, मसाला फ्युजन, हट गार्लिक, पेपर सोया, स्पाइसी तेरियाकी, सेज्वान चिलीको प्रयोग गरी सात स्वाद लिन पाइन्छ।
त्यस्तै सस, अठार थरी ताजा सागसब्जी, दश थरी टपिङ तथा पाँच थरी एड अन बाट छनोट गरी आफूले रुचाएको स्वादमा आफ्नै आँखा अगाडि बनाएका परिकारको स्वाद चाख्न पाइन्छ।