बाराही जंगल लजले दक्षिण एसियाको उत्कृष्ट पर्यटन पुरस्कार हात पारेको छ। चितवनस्थित यस संस्थालाई माल्दिभ्सको राजधानी मालेमा हालै सम्पन्न साउथ एसियन ट्राभल अवार्ड (साटा) समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो।
संस्थाले यसै वर्ष प्रदान गरिएका ‘लिडिङ वाइल्ड लाइफ’ होटल/रिसोर्ट, लिडिङ इको होटल÷रिसोर्ट, लिडिङ लक्जरी होटल/रिसोर्ट गरी तीन विधाका राष्ट्रिय स्तरका पर्यटन पुरस्कार समेत जितेको छ।
अवार्ड प्राप्ति संस्थाको व्यावसायिक जीवनकै एक महत्वपूर्ण कोशेढुंगा भएको र आगामी दिनमा व्यवसायलाई थप उचाइमा लैजान प्रेरणा मिलेको लजका संस्थापक तथा अध्यक्ष हरिप्रसाद पौडेलले बताए। ‘अवार्ड प्राप्तीबाट थप मेहनत गर्नैपरर्यो, अझै उत्कृष्ट आतिथ्य प्रदान गर्ने तथा दिगो पर्यटनलाई बढावा दिने कामलाई प्रेरणा मिलेको छ’ उनले भने।
बाराही जंगल लज चितवनको मेघौलीस्थित राप्ती नदी किनारमा रहेको थारु बस्तीमा अवस्थित जंगल लज हो। यसले आन्तरिक एवं वाह्य पर्यटकलाई नदीका दुबै किनारबाट देखिने चितवन राष्ट्रिय निकुञ्ज तथा राप्ति किनारका मनमोहक दृष्यको अवलोकन गराउँछ ।
लजको भित्री एवं बाहिरी सजावटले नेपालका थारु जातीको मौलिक संस्कृतिका महत्वपूर्ण पक्षहरुसँग पर्यटकलाई परिचित गराउँछ । कुल २० विघा क्षेत्रफलमा फैलिएको यो लजमा ३४ वटा पूर्ण सुविधायुक्त कोठा तथा एक सुइटसमेत रहेको छ।
सबै कोठाहरुमा अलग अलग बाल्कोनी रहेका छन्। जहाँबाट चितवन राष्ट्रिय निकुञ्जको मनोरम प्राकृतिक दृश्यको आनन्द लिन सकिन्छ। लजले आयुर्वेदिक उपचार सहितको स्तरीय स्पाको सेवा समेत उपलब्ध गराउँदै आएको छ।
यस लजले पर्यटकलाई जिप सफारी, डुङ्गा सफारी, जंगलको पैदल यात्रा तथा हात्ति सफारीको व्यवस्था समेत गराउँछ। यसैगरी लजले स्थानीय थारु समुदायको मौलिक कला, शिप र संस्कृतिसँग समेत पर्यटकहरुलाई साक्षात्कार गराइरहेको छ।
लजका ९० प्रतिशत कर्मचारी स्थानीय समुदायका छन्। सथै संस्थाले स्थानीय विद्यालय तथा समुदायको स्तरोन्नतीमा सहयोग गरिरहेको छ। बाराही जंगल लज पोखरास्थित होटल बाराहीको व्यवसायीक विस्तार हो। सन् २०१३ को सेप्टेम्बर १ देखि सेवा सुरु भएको यस संस्थाले स्वदेशी र विदेशी गरी २० हजार भन्दा धेरै पर्यटकलाई सेवा प्रदान गरिसकेको छ।