चिनियाँ मोबाइल फोन ब्राण्ड ओप्पोले हालै मात्र ‘एफ फाइभ’ सार्वजनिक गरेको छ। यसको ३३ हजार ९९९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ। यो फोन तथा कम्पनीको आगामी योजनाका बारेमा ओप्पो नेपालका ब्राण्ड निर्देशक केभिन हुँगसँग सेतोपाटीका विनोद आचार्यले गरेको कुराकानीको सम्पादित अंशः
ओप्पो एफ फाइभका मुख्य विशेषताहरु प्रकाशमा ल्याइदिनुहोस न।एउटा ३५ हजारको फोनमा ग्राहकले खोज्ने सबै प्रकारको फिचर्स हामीले ओप्पो एफ फाइभमा दिएका छौँ। फोनमा ६ इन्चको ‘फूल एचडी डिस्प्ले’, १६ मेगापिक्सेलको सेल्फी तथा २० मेगापिक्सेलको रियर क्यामेरा छ।
त्यस्तै ३२०० एचएएचको ब्याट्री, कलर ओएस ३.२ अपरेटिङ सिस्टम, ४ जीबीको र्यामसहित ३२ जीबीको इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ।
यसमा भएका मुख्य दुई फिचर्स जुन तपाईले यसै मूल्य रेन्जका अन्य कुनै ब्राण्डमा पाउन सक्नु हुन्न ती यसको चिनारी हुन्। पहिलो, एआई प्रविधिमा आधारित २० मेगापिक्सेलको सेल्फी क्यामेरा र दोश्रो, फुलएचडी ६ इन्चको डिस्प्ले।
ओप्पोले यसको क्यामरालाई ‘क्याप्चर दि रियल यु’ भन्ने ट्यागलाइन दिएको छ। त्यसको अर्थ के हो ?हेर्नुहोस् हामीले गरेको अध्ययनले के देखाएको छ भने प्रयोगकर्ताले कुनै पनि फोन किन्दा मूख्यतया क्यामेरा, स्क्रिन साइज, ब्याट्री, स्टोरेज, पर्फमेन्सजस्ता कुरा हेर्छ। यीमध्ये पनि धेरै जनाको पहिलो प्राथमिकतामा क्यामरा नै परेको हुन्छ। ओप्पोका लागि ‘क्यामरा’ मुटु हो। यही कुरालाई हामीले ध्यानमा राखेर फोनहरु परिष्कृत गर्दै लगेका छौँ।
आजकाल सबैजसो ब्राण्डका फोनहरुमा सेल्फी क्यामेरामा प्रयोग भएको ‘ब्युटिफिकेसन मोड’द्वारा खिच्ने तस्वीरहरु सबै एकनासका हुने गर्छन्। यसले हरेक प्रयोगकर्ताहरुको ‘युनिकनेस’ लाई बिगारिदिएको छ।
ओप्पो ‘एफ फाइभ’ मा भएको एआई ब्युटी मोड सेल्फी क्यामराको एक नवितम फिचर्स हो। यसले ग्लोबल डाटाबेसका आधारमा सेल्फी खिच्ने ब्यक्तिको अनुहारको आकार तथा प्रकारका पहिचान गरी त्यसै अनुरुपमा तस्वीर खिच्छ।
यसरी खिचिएको तस्वीरलाई ग्लोबल डाटाबेसमा रहेका मानव अनुहारका फेसियल फिचर्स, आकार र संरचनाहरुसँग तुलना गरी प्रयोगकर्ताको छालाको प्रकार, लिङ्ग, उमेर पहिचान गर्छ।
त्यसरी अनुहारको पहिचान पश्चात आवश्यकता अनुसार छाला, आँखा, ओठ लगायतमा ब्युटिफाई प्रविधिले उत्कृष्ट नतिजाका लागि काम गर्न थाल्छ। यो फिचर्सले ब्यक्तिगत तवरमै ब्युटिफाई गर्ने काम गर्छ। पुरुषहरुको तस्वीरलाई यसले महिलमा लागू हुने फिचर्स प्रयोग गर्दैन। त्यस्तै बच्चाहरुमा प्रयोग हुने फिचर्स व्यस्कमा लागू हुँदैन।
प्रयोगकर्ताको वास्तविक ‘ब्यक्तिचित्र’ उतार्ने भएकाले हामीले ‘क्याप्चर दि रियल यु’ भनेका हौँ।
एफ फाइभ कस्ता प्रयोगकर्ता लक्षित फोन हो?ओप्पोका फोनहरु सबै उमेर र वर्गलक्षित छन्। तर सेल्फी क्यामेरा केन्द्रित भएकाले युवाहरुले यो फोनमा धेरै रुची देखाउलान भन्ने हामीले विश्वास लिएका छौँ।
बजारमा फोनको ‘पर्फमेन्स’ लाई लिएर के अपेक्षा गर्नुभएको छ?एउटा फोनमा हुनुपर्नेसबैखाले फिचर्सहरु यसमा छन्। त्यस्तै यसको मूल्य पनि निकै सस्तो र न्यायोचित छ। यसमा भएका केही फिचर्स उपलब्ध अन्य ब्राण्डका कुनै पनि फोनमा पाइँदैन। त्यसैले यसप्रति हामी निकै नै आशावादी छौँ।
विभिन्न टेलिभिजन कार्यक्रममा ‘स्पोन्सरिङ’ देखि मिडियामा गरिरहेको विज्ञापनबाट ओप्पोले नेपालमा निकै लगानी गरिरहेको देखिन्छ। के त्यसै अनुसारको प्रतिक्रिया फोनको विक्रीमा पाइरहनु भएको छ ?
हेर्नुहोस कुनै पनि बजार प्रवेश गरेर पर्याप्त नाफा कमाउनु मात्र हाम्रो नीति छैन। बजार प्रवेश गरेसँगै हामी त्यहाँका स्थानीयलाई ओप्पो उनीहरुकै ब्राण्ड हो भनेर प्रमाणित गर्न चाहान्छौँ।
यही उद्देश्यले हामीले विभिन्न ‘रियालिटी शो’ हरुमा ‘स्पोन्सर’ गरिरहेका हौँ। ‘नेपाल आइडल’ को प्रमुख ‘स्पोन्सरिङ’ हामीले नै गरेका हौँ। त्यो कार्यक्रम निकै नै लोकप्रिय बनेको छ। त्यस्तै छिट्टै चर्चित रियालिटी शो ‘बुगी वुगी’ र ‘नेपाल गट ट्यालेन्ट’ ल्याउँदै छौँ।
यी मार्फत हामी हरेक नेपालीको घर घरसम्म पुगेका छौँ। योसँगै हाम्रो बजार पनि बढिरहेको छ। यति नै भन्ने तथ्यांक नभएपनि एक वर्षको अवधिमै हामीले निकै धेरै माया पाएका छौँ।
हरेक महिनाजसो नयाँ ब्राण्ड भित्रने क्रम जारी छ। यसले उपभोक्तालाई धेरै विकल्प दिएको छ भने यहाँ रहेका ब्राण्डलाई चुनौती थपिएको छ। यस्तोमा ओप्पोलाई अन्यसँग प्रतिस्पर्धा गर्न कत्तिको चुनौतीपूर्ण देख्नुहुन्छ ?हो यहाँ नयाँ कम्पनीहरु आइरहेका छन्। तर मलाई के लाग्छ भने हरेक कम्पनीहरुका आफ्नै खास विशेषता छन्। ओप्पोको मुख्य विशेषता भनेको यसको सेल्फी क्यामेरा हो।
त्यसैले पनि हाम्रो परिचय ‘सेल्फी एक्सपर्ट एण्ड लिडर’ बनेको छ। ओप्पोको जस्तो सेल्फी क्यामेरा कुनै पनि अन्य ब्राण्डमा छैन। यसले हामीलाई के लाग्छ भने जति धेरै कम्पनी भित्रिएपनि हाम्रो प्रतिस्पर्धी कोही पनि छैनन्।
तपाईहरु ‘मध्यम रेन्ज’ का फोनमा बढी केन्द्रित भएको देखिन्छ। आउँदा दिनमा प्रिमियम फोन ल्याउने बारेमा केही सोच्नुभएको छ कि? मुख्यतया नेपाली बजारमा मध्यम रेन्जका फोनहरु नै धेरै रुचाइएको पाइएको छ। हामी चाहान्छौँ कि सबै खाले मानिसको पहुँच ओप्पाका उत्पादनसम्म रहोस। त्यसैले हाम्रो प्राथमिकतामा मध्यम रेन्ज नै परेको छ तर यसको अर्थ प्रिमियम फोनहरु बोक्ने प्रयोगकर्तालाई हामीले वेवास्ता गरेका होइनौँ।
५४ हजार ९९९ रुपैयाँको एफ थ्री प्लस हामीसँग छ। यो सँगै अन्य मोडलका प्रिमियम फोनहरु पनि हामी आवश्यक्ता अनुसार ल्याउने नै छौँ।