भृकुटीमण्डपमा जारी नेपाल चेम्बर एक्स्पोमा अवलोकनकर्ताको भीड लागेको छ।
भान्साका सामानदेखि लत्ताकपडा, विद्युतीय सामान र सवारी साधन समेत रहेको एक्स्पोमा अवलोकन कर्ताहरुको भीड भने विदेशी उत्पादनका स्टलमा बढी देखिन्थ्यो।
दैनिक उपभोग्य सामान, छालाद्धारा निर्मित वस्तु तथा जाडोका कपडाहरुमा अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ। बिहीबारदेखि सुरु भएको एक्स्पोको तेश्रो दिन शनिबार भएकाले अवलोकनकर्ताको उल्लेख्य भीड देखिएको हो।
चुनावले एक्स्पो प्रभावित हुन सक्ने आफुहरुको अनुमान गलत सावित भएको आयोजक चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए। मुलुकको आर्थिक, औद्योगिक एवम् वाणिज्य क्षेत्रको विकास तथा अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनको सहजीकरणका लागि भन्दै आयोजना गरिएको एक्स्पोमा ९० वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुसहित २ सय २५ स्टल छन्।
सोमबार सम्म चल्ने एक्स्पोमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, चीन, कोरिया, जापान लगायत देशका उत्पादक कम्पनीहरु सहभागी छन् ।