मिठ्ठू गौतम भेडासिंको भवानीशंकर मन्दिर सिँढीको दोस्रो खुड्किलोमा टुसुक्क बसेका थिए।
बिहीबार दिउँसो ३ बजेको थियो।
अरू दिन भइदिएको भए यही मन्दिर परिसरमा साथीभाइसँग गफिँदै हुन्थे। दुई दिनदेखि उनलाई कामको भ्याइनभ्याइ छ।
‘पाँच मिनेट मात्र भयो फुर्सद पाएको, फेरि कुदिहाल्नुपर्छ,’ उनले सुस्केरा हाल्दै भने, ‘एकछिन आराम गरुँ भनेर बसेको।’
‘तपाईंलाई मात्र यस्तो कि अरूलाई पनि?’
‘अरू बेला भए यहीँ छ–सात जना उँघिरहेका हुन्थे,’ उनले मन्दिरको सुनसान परिसरतिर देखाउँदै भने, ‘अहिले हेर्नू त, कोही छैनन्, सब काममा गएका छन्।’
दोलखा, चरिकोटका मिठ्ठूले राजधानीको इन्द्रचोक क्षेत्रमा भारी बोक्न थालेको ४० वर्ष भयो। इन्द्रचोक, असन, मखन, महाबौद्ध, भेडासिं लगायत क्षेत्रमा सामानको भारी ओसार्नु उनको दिनचर्या हो। धेरै पसलले गल्ली भित्रभित्र गाडीमै ढुवानी गर्दा काम पाउन मुश्किल थियो। कहिलेकाहीँ दिनभरि कुर्दा पनि आम्दानी हुन्थेन।
मंगलबारबाट भने उनको दिनचर्या फेरिएको छ।
भित्री बस्तीमा चारपाङ्ग्रे निषेधपछि पसलको सामान ओसार्ने काम भरियाहरूले नै पाउन थालेका छन्। सामान ल्याउने र पुर्याउने दुरी पनि बढेको मिठ्ठू बताउँछन्।
‘उसो भए आम्दानी धेरै हुन थाल्यो होला नि?’
‘त्यसै भन्नुपर्यो,’ ६७ वर्षे मिठ्ठूले मुसुक्क हाँस्दै भने, ‘दुई दिन भयो कमाइ हजार घटेको छैन, मंगलबार एक हजार, बुधबार बाह्र सय। यस्तै भए त दुई हजार डेरा भाडा सजिलै बचाउन सकिन्थ्यो। ताल परे अर्को दसैंमा श्रीमतीलाई नयाँ फरिया किनेर लगिदिन्थेँ घर जाँदा।’
मिठ्ठूले दुई दिनयता आफ्नो पेसामा आएको परिवर्तन सम्झे।
विगतमा उनी बढीमा दिनको सात भारी ओसार्थे। मंगलबारपछि दस भारी घटेको छैन। बढीजसो कपडा र किराना सामान बोक्छन्। तौल र दुरी हेरेर प्रतिभारी ५० देखि २०० रुपैयाँसम्म लिन्छन्। गाडी निषेधपछि ज्याला पनि बढेको मिठ्ठू बताउँछन्।
‘बसपार्कसम्म २ सय, छेउछाउ भए ६०,’ मिठ्ठूले रेट सुनाए, ‘गाडी आउन बन्द भएपछि हाम्रो पनि रेट अलिकति बढेको छ। पहिले ६० लिने ठाउँमा सय लिन थालेका छौं।’
काठमाडौंको भित्री बस्तीका ११ वडाध्यक्ष र स्थानीय प्रतिनिधिले माघ २ बाट इन्द्रचोकदेखि क्षेत्रपाटीसम्म चारपाङ्ग्रे सवारी निषेध गरेका हुन्।
निषेध गरिएका क्षेत्रमा वडा नम्बर १७, १८, १९, २४, २५ र २७ मा पर्ने असन, इन्द्रचोक, मखन, त्यौड, ठैंटी, भेडासिंह, नरदेवी, किलागल लगायत पर्छन्। यहाँ अब बिहान ७ देखि बेलुकी ७ बजेसम्म चारपाङ्ग्रे सवारी गुडाउन पाइँदैन।
‘काठमाडौंमा भारी बोक्न थालेदेखि धेरै परिवर्तन देखेँ। थोरै पैसामा नुन–मसला किनेर घर पठाइन्थ्यो, अहिले सबै चिजको भाउ बढेको छ, हामी भरियाको आम्दानी जस्ताको त्यस्तै। यता गाडी छिर्न नदिए अलि बढी काम पाउँथ्यौं, बहाल तिर्न मात्र भए पनि सजिलो हुन्थ्यो,’ उनले भने।
अर्का भरिया भिमबहादुर श्रेष्ठ पनि काम र कमाइ दुवै बढेको बताउँछन्।
उनका अनुसार यो समय भरियाका लागि ‘अफ–सिजन’ हो। जाडो यामका सामान बजारमा गइसकेको छ, गर्मीको आउने बेलै भएको छैन।
[caption id="attachment_125183" align="alignleft" width="254"]
भिम बहादुर श्रेष्ठ।[/caption]
‘यो सिजनमा पनि चारपाङ्गे्र छिर्न नपाएपछि अब व्यापारीहरू हामीलाई नै खोज्दै आउन थालेका छन्,’ उनले भने, ‘पहिले दिनको बढीमा हजार रुपैयाँ कमाइ हुन्थ्यो। अहिले त १५ सयभन्दा बढी हुन थालेको छ।’
धेरै पसलले न्युरोड, वीर अस्पताल र महाबौद्धसम्म ट्रान्सपोर्ट कम्पनीबाट सामान ओसार्छन्। त्यहाँबाट अर्को सानो गाडीमा पसलसम्म लगिन्थ्यो। अहिले भरिया प्रयोग हुन थालेको छ। गल्लीभित्रका गोदामसम्म ओसार्न पनि भरियाकै प्रयोग हुन्छ। गोदामबाट पसल र पसलबाट ग्राहककहाँ डेलिभरी गर्ने जिम्मा पनि उनीहरूकै हो। यसले व्यस्तता बढेको भरिया बताउँछन्।
यहाँका अधिकांश भरिया खेतीपातीको समय गाउँ जान्छन्, अरू बेला काठमाडौंमै हुन्छन्। खेती गर्ने जग्गाधरि नभएकाहरूको त टेक्ने र समाउने ठाउँ नै यही हो। गाउँ बस्ने परिवारको जिम्मेवारी काठमाडौंको भारीमै टिकेको हुन्छ। यहाँको आम्दानी वैदेशिक रोजगारभन्दा राम्रो भएको नारायण सापकोटाको अनुभव छ।
एक वर्ष मलेसिया बसेर फर्केका उनले यहाँ भारी बोक्न थालेको सात वर्ष भइसक्यो। उता म्यानपावर कम्पनीले भनेजस्तो काम नपाएर रन्थनिएका उनी अचेल दंग छन्।
‘विदेशमा गर्नेजति श्रम यहाँ गर्ने हो भने उस्तै कमाइ हुन्छ,’ ३० वर्षे सापकोटाले भने, ‘सवारीमुक्त भएपछि त कमाइ अझ बढेको छ।’
सवारीमुक्त हुनुअघि र पछिको दैनिक कमाइ नै हजार रुपैयाँ हाराहारी बढेको उनले सुनाए।
‘पहिले हजार काट्न मुश्किल हुन्थ्यो, अहिले त दुई हजारसम्म कमाएँ,’ उनले भने, ‘सधैं दुई हजार नकमाइएला, तै पनि पहिलेभन्दा बढी होलाजस्तो लागेको छ।’
यी भरियालाई आफ्नो कमाइ सँगसँगै असन, इन्द्रचोक क्षेत्र सवारी भिडभाडबाट मुक्त भएकोमा पनि खुसी लागेको छ।
[caption id="attachment_125184" align="alignright" width="259"]
नारायण सापकोटा।[/caption]
‘पहिले गाडी छली–छली हिँड्न पथ्र्यो। अहिले सबै आरामले हिँड्न पाएका छन्, हामीलाई भारी ओसार्न सजिलो भएको छ,’ उनले भने, ‘सामान किन्ने र बेच्नेलाई पनि सुविस्ता छ। नभए कम्ता झ्याउ हुन्थेन यहाँ हिँड्न!’
भरियाहरूको जस्तै अनुभव रिक्सा चालकको पनि छ।
पच्चीस वर्षदेखि रिक्सा चलाउँदै आएका विदुर चौलागाईंले जाम घटेपछि यात्रा सहज भएको बताए। पहिले इन्द्रचोकबाट ठमेल पुग्न ४० मिनेट लाग्थ्यो, अहिले २० मिनेटमै पुगेको उनको अनुभव छ।
‘जाममा नअड्किएर समयमै पुग्न थालेपछि ट्रिप बढेको छ,’ ४३ वर्षे चौलागाईंले भने, ‘पहिले दिनको सात वटाजति ट्रिप पाइन्थ्यो। कमाइ ६–७ सय हुन्थ्यो। अहिले १२ वटासम्म ट्रिप भ्याइएको छ। कमाइ हजार नाघेको छ।’
अर्का रिक्साचालक कुमार लामालाई त अर्को आस पनि जागेको छ– रिक्सामा पर्यटक घुमाउने।
‘काठमाडौंका भित्री बस्तीमा घुम्न लायक ठाउँ प्रशस्तै छन्। मन्दिरै मन्दिर छन्। पुराना घर छन्। ती राम्ररी हेर्न कि हिँड्नुपर्छ, नभए त हाम्रै रिक्सा हो सजिलो,’ उनले भने, ‘बढीभन्दा बढी पर्यटक रिक्सामा राखेर भित्री काठमाडौं देखाउने दिन पनि आउँथ्यो कि!’
काठमाडौं महानगरका यी भित्री वडाले आफ्नो क्षेत्र सवारीमुक्त गर्नुको कारण यही हो– यहाँको ऐतिहासिक तथा साँस्कृतिक सम्पदा जोगाउने।
काठमाडौंलाई ‘जीवित सम्पदा’ का रूपमा लिइन्छ। यहाँका टोल, गल्ली, बहाल र ननीहरूमा बाह्रै महिना कुनै न कुनै जात्रा, पर्व चलिरहन्छन्। सवारी घन्चमन्चले ती जात्रापर्व सञ्चालनमा बाधा पुग्दै आएको थियो।
चारपाङ्ग्रे सवारीमुक्त अभियानपछि यहाँका ऐतिहासिक तथा पुरातात्विक सम्पदा संरक्षण हुनुका साथै आर्थिक कारोबार पनि बढ्ने आशा गरिएको छ।
पहिलो चरणमा लाभान्वित भएका छन्, यिनै भरिया।