राजधानीको सामाखुसी चोकमा पैँचो पसल प्रालिको आधिकारिक बिक्री कक्ष सुरु भएको छ।
पहाडी भूभागको उत्पादनबाट खाद्य वस्तु प्याकिङ तथा वितरण गरिरहेको पसलले राजधानीमा विक्री कक्ष संचालनमा ल्याएको हो।
बिक्री कक्षको पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सोमबार शुभारम्भ गरे।
शुभारम्भ गर्दै पूर्वस्वास्थ्यमन्त्री पोखरेलले पैँचोले अर्गानिक उत्पादनमा जोड दिने विश्वास व्यक्त गरे। ओजस आयुर्वेद अस्पतालको सहकार्यमा सुरु भएको विक्री कक्षमा पैँचोका सबै उत्पादनहरु पाइने पसलले जनाएको छ।
‘बसे पनि शहर गाउँकै खाने रहर’ भन्ने नाराका साथ डेढ वर्षदेखि गुल्मीको रिडीमा अत्याधुनिक प्रशोधन केन्द्र खोलेर सुरु गरिएका उत्पादनहरु एक वर्षदेखि राजधानीमा भित्रिन थालेका हुन्।
अहिले हेटौंडादेखि सुदुर पश्चिमसम्म आफ्ना उत्पादनहरु पुर्याइसकेको पैँचोका मुख्य बजार व्यवस्थापक लक्ष्मण गैरेले जानकारी दिए।
गुल्मी र पाल्पाका किसानले उत्पादन गरेका सबै खाद्य बस्तुहरु खरिद गर्दै आएको पैँचोले अहिले कालिकोट, सुर्खेत, दैलेख, रुकुम, रोल्पा, प्यूठान, बागलुङ, पर्वत, स्याङ्ग्जाका किसानका उत्पादनहरु खरिद सुरु गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रमाणित गरेको इन्ट्रिग्रेटेड पेस्ट मेनेजमेन्ट (आईपीएम) प्रणालीका र पूर्ण अर्गानिक उत्पादनलाई मात्र प्राथमिकता दिइने गरेको पैँचोले जनाएको छ।