साउनदेखि मंसिरसम्म आठ अर्ब रुपैयाँ बराबरको खाने तेल आयात गरिएको छ। भन्सार विभागका अनुसार सात अर्बको कच्चा तेल र एक अर्बको तयारी तेल आएको छ।
दक्षिण अमेरिकी मुलुकहरुबाट आयात हुने त्यस्तो तेलको माग निरन्तर बढीरहेपनि नेपालमा भने तेलहन बालीको उत्पादकत्व खासै बढेको छैन।
यो बीचमा ६ अर्ब ४५ करोड ८८ लाख रुपैयाँको भटमासको कच्चा तेल नेपाल आएको छ। यसमा सबैभन्दा धेरै अर्जेन्टिनाबाट आएको हो। जम्मा ७ करोड २० लाख ५४ हजार लिटर कच्चा तेल आएकोमा अर्जेन्टिनाबाटमात्र ५ करोड २९ लाख लिटर आएको छ।
त्यस्तै ब्राजिलबाट ४४ लाख ५० हजार र पराग्वेबाट १ करोड ४६ लाख लिटर आएकोछ।
१ लाख ७९ हजार लिटर भटमासको तयारी तेल नेपाल आएको छ। २ करोड ३४ लाख रुपैयाँ भन्सार मूल्य कायम भएको छ।
यो वर्षको पाँच महिनामै १ अर्ब ७४ करोड रुपैयाँको सुर्यमुखीको कच्चा तेल आयात भएको छ। अर्जेन्टिनाबाट, रसिया र युक्रेनबाट तेल आएको हो।
७ करोड ७७ लाख रुपैयाँको ५ लाख ८६ हजार लिटर तयारी सुर्यमुखीको तेल आएको छ।
नेपालमै खेती गर्न सकिने वा उत्पादनको प्रसस्त सम्भावना भएर पनि भटमास, तोरीजस्ता तेलहन बालीमा परनिर्भरता दिनप्रतिदिन बढ्दै गएको छ। व्यवसायिकरुपमा खेती गर्न जग्गा, ऋणमा समस्या भएको भन्दै व्यवसायीहरुले गुनासो गर्दै आएका छन्।
भौगोलिकरुपले धेरै टाढाका मुलुकबाट ल्याएर नेपालमा प्रसोधन गर्दा एकातिर उभोक्त मूल्य बढ्ने अर्कोतिर परनिर्भरता बढ्ने प्रवृत्तिको विकास भइरहेको छ।
यो बीचमा तेलमात्र होइन भटमासको आयात पनि त्यत्तिकै भएको छ। तेल, दाना उत्पादनजस्ता काममा प्रयोग हुने भटमास यो अवधिमा २ करोड ३ लाख किलो भटमास आएको छ। क्यानडाबाट,भारत, सयुक्तराज्य अमेरिका, , मोजाम्बिक, मालावी र टोंगोबाट ९३ करोड ८१ लाख रुपैयाँ मूल्यको भटमास नेपाल आएको हो।