भैरहवामा निर्माण भएको विशेष आर्थिक क्षेत्र(सेज)मा उद्योग दर्ताको लागि अनुमति लिन १५ दिने सुचना जारी भएको छ।
उद्योग स्थापना गर्न छनौट भएका कम्पनीहरुलाई लक्षित गर्दै विशेष आर्थिक क्षेत्र विकास समितिले बुधार सुचना जारी गरेको कार्यकारी निर्देशक चन्डिकाप्रसाद भट्टले जानकारी दिए।
बिजुलीको निश्चितता नभएकोले पूर्वाधार निर्माण तथा उद्योग स्थापना रोकिएको अनुमति प्रक्रिया सुरु भएको हो।
विद्युत प्राधिकरणले तत्कालै भैरहवाको ३३ केभिए प्रासरण लाइनबाट विजुली दिने प्रतिबद्धता जनाएपछि सेजले छनौट भएका उद्योगलाई दर्ताको लागि सम्पर्कमा आउन सुचना जारी गरेको हो।
सुचना जारी भएको मितिले १५ दिनभित्र आउने उद्योगको दर्ता प्रक्रिया सुरु हुने र नआए अरु कम्पनीको लागि अर्को सुचना जारी गरिने भट्टले बताए।
‘विजुली अभावको समस्या समाधान भएको छ तत्कालको लागि प्राधिकरणले भैरहवाबाट बिजुली दिने भएको छ’ उनले भने,‘तत्काल अनुमति दिएर पूर्वाधार निर्माण थाल्न व्यवसायीहरुलाई हामीले बोलाएका छौं।’
सवस्टेशन निर्माण हुन कम्तिमा ९ महिना लाग्ने तर त्यो समयसम्म भैरहवाबाटै विजुली आपूर्ति हुने भएकोले भोलीदेखि नै उद्योग चलाउन सम्भव भएको उनको भनाइ छ।
भैरहवा सेजमा उद्योग स्थापना गर्न, कृषीजन्य, तयारी पोसाक, जत्ता, निर्माण सामग्री, साबुन र अटोमोबाइल कम्पनी छनौट भएका छन्। कूल १९ कम्पनी यसअघि नै छनौट भएका हुन्।
सेज संचालन सम्बन्धि बनेको ऐनले त्यहाँ भित्र संचालन हुने उद्योगले उत्पादन गरेका ७५ प्रतिशत विदेश निर्यात गर्नुपर्ने, कर छुट हुने तथा एकै ठाउँबाट प्राशासनिक काम हुने व्यवस्था गरेको छ। बन्द हडताल गर्न नपाइने जस्ता विभिन्न सुविधा दिने ऐनले व्यवस्था गरेपनि व्यवसायीहरुले भने तत्काल उद्योग स्थापना गरिहाल्न उत्सुक देखिदैनन्।
उद्योग स्थापनको अनुमति लिएर पूर्वाधार निर्माण गरिहाल्ने मनस्थितिमा धेरै उद्योगीहरु छैनन्। सवस्टेशन नबनेकोले विजुली आउनेमा उनीहरु ढुक्क छैनन्।
सेजमा उद्योग स्थापना गर्न छनौट भएको एक कम्पनीका संचालकका अनुसार विशेषगरी भाडामा पुर्नविचार नहुने हो भने त्यहाँ उद्योग कसैले पनि संचालन गर्न मानेका छैनन्।
‘बाहिर जग्गा भाडामा लिएर चलाएभन्दा महंगो भाडा छ त्यहाँको’ उनले भने,‘भाडा घटाएर विजुली आउने ग्यारेन्टी नभएसम्म उद्योगको पूर्वाधार निर्माणमा हात हाल्न कठिन छ।’
सुरुमा समितिले प्रस्ताव आव्हान गर्दा २३ औद्योगिक प्रतिष्ठानहरुले ४८ वटा प्लटको लागि प्रस्ताव गरेका थिए। त्यसमध्ये १९ प्रतिष्ठानमात्र छनौट भएर सम्झौता भएको थियो।
५२ विघा जमिनमा रहेको भैरहवा सेजमा १७ प्रकारका उद्योगहरु स्थापना गर्न सकिने आधारहरु प्रस्तुत गरिएको छ। सरकारले कम्तिमा पनि ७ हजार प्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षासहित २०६० सालमा भैरहवामा सेज निर्माण गर्ने निर्णय गरेको थियो।