सुट बैंक एण्ड फेशन डिजाईन प्रालिले ‘पुरानो सुट ल्याउनुहोस् नयाँ सुट लिएर जानुहोस्’ नामक नयाँ बम्पर योजना ल्याएको छ।
ग्राहकको चाहनाबमोजिम पूरानो सुटलाई बजार व्यवस्थापन र नयाँ डिजाईनको सुट अर्डर गर्न सजिलो होस् भन्ने उद्देश्यले योजना ल्याइएको सुट बैंकका अध्यक्ष भोजराज सिवाले जानकारी दिए।
कार्यक्रममा बोल्दै समाजसेवी गीता राणाले सुटको कपडा आयातमा भ्याट र सुट तयार हुँदा पनि भ्याट लगाउने गरिएकोले व्यवसायीहरु दोहोरो मारमा परेको बताईन्। ‘यिनै समस्याले गर्दा छिमेकी मुलुक भारत र चीनसँग व्यापार प्रतिष्पर्धा गर्न सक्ने अवस्था छैन।’
कार्यक्रममा नेपाल ईन्भेष्टमेन्ट फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले यस्ता योजनाले नेपाली अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
‘पुराना सुट तथा कोटहरु दराजमा थन्किरहने भएकाले त्यसलाई सुट बैंकमा ल्याएर नयाँ डिजाईनको कोट तथा सुट लैजान सक्नुहुनेछ’ सिवाले भने। कोट तथा सुटको गुणस्तर हेरी एकअर्कासँग कारोबारको मूल्य तय हुने संस्थाले जनाएको छ।
यो योजनामा ३ जोर सुट बनाउने ग्राहकलाई एउटा लक्की ड्र कुपन दिइने र लक्की ड्रमार्फत गाडी उपलब्ध गराईने संस्थाले जनाएको छ। १५ सय वटा लक्की ड्र कुपनमा एउटा गाडी उपलब्ध गराईने संस्थाको भनाइ छ।