नेपालमै उत्पादित वस्तु तथा सेवाहरुको एकैठाउँमा प्रचारप्रसार गर्न मेड इन नेपाल प्रदर्शनी चैत २ देखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ।
युवा उद्यमी मञ्चको आयोजनामा संचालन हुने उक्त प्रदर्शनमा नेपालमा उत्पादित वस्तु तथा सेवा राखिने मञ्चका उपाध्यक्ष संजय श्रेष्ठले जानकारी दिए।
भूकम्पपछिका २ वर्ष रोकिएको प्रदर्शनी श्रृखला यो ६ औं हो।
नेपालमा उत्पादित वस्तु तथा सेवाको प्रदर्शनीमात्र भन्दा पनि अभियानकै रुपमा अगाडि बढाउन खोजिएको मञ्चका बोर्ड सदस्य सुदर्शन बस्नेतले बताए।
चैत ४ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा नेपालमा उत्पादन भएका वस्तुका विभिन्न स्टलहरु हुने छन्। त्यस्तै नेपालकै सेवाहरु पनि त्यहाँ रहने बस्नेतले जानकारी दिए।
व्यवसाय र व्यापारलाई सघाउ पुर्याउने विभिन्न कार्यक्रमहरु प्रदर्शनीमा हुने आयोजकहरुको दावी छ। नेपाली वस्तुको प्रयोग बढाउन सघाउ पुग्ने बस्नेतको विश्वास छ।
‘यसबाट उपभोक्ताहरुलाई पनि विदेशीजस्तै वस्तुहरु नेपालमै उत्पादन हुन्छन् भन्ने जानकारी दिने हो’ उनलेभ भने,‘त्यस्तै व्यवसायीहरुलाई पनि एकलाई चाहिने वस्तु अर्कोले यही उत्पादन गरेको हुनसक्छ हामी त्यसको चौतारी उपलब्ध गराउन चाहन्छौं।’
नेपालमा उत्पादन भएका गुणस्तरीय वस्तुको उपभोग बढाउने उद्देश्यका साथ प्रदर्शन हुन लागेको हो। हाम्रो पनि राम्रो पनि नारा लिएको उक्त प्रदर्शनीमा १५० भन्दा बढी स्टल रहने छन्।
आगमी दिनमा विदेशमा पनि आयोजना गर्ने लक्ष्य लिइएको बस्नेतले बताए।