विश्वप्रसिद्ध ह्विस्की जोनी वाकरले ब्ल्याक लेबलका २ लाख ५० हजार बोतलका लोगोमा महिलाको तस्बिर राख्ने भएको छ।
डेढ सय वर्ष लामो इतिहास भएको जोनी वाकरले हिँड्दै गरेको पुरुषको ठाउँमा पहिलो पटक महिलाको तस्बिर राख्न लागेको हो। विशेष संस्करण अन्तर्गत उत्पादन हुन लागेका यी बोतलमा महिलाको हिँड्दै गरेको तस्बिर छ। जसमा उनले ह्याट र बुट लगाएकी छन्।
‘स्कच भनेपछि महिलाहरु अलिकति हच्किन्छन्,’ ब्ल्याक लेवल उत्पादक कम्पनी डिआगोकी उपाध्यक्ष स्टेफाइन ज्याकोबीले भनिन्, ‘महिलालाई हाम्रो ब्रान्डमा सहभागी गराउन पाउन लोभलाग्दो अवसर हो।’
महिलाको लोगोसहित उत्पादन हुने ब्ल्याक लेवलका बोतल अमेरिकामा मात्र बिक्री हुनेछन्।
मार्च ८ मा पर्ने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको हप्तादिन अगाडिबाट महिला भएको लोगोसहितको ब्ल्याक लेवल बिक्री हुने कम्पनीले जनाएको छ।
प्रत्येक बोतलबाट १ अमेरिकी डलर महिला अधिकारका पक्षमा काम गर्ने संस्थाहरुलाई दिइनेछ।
उपाध्यक्ष ज्याकोबीले महिलाको लोगो भएका ब्ल्याक लेवल अरु बेला पनि बनाउनेबारे आफूहरूले सोचिरहेको बताइन्।
यसअघि गत जनवरीमा विश्वप्रसिद्ध कम्पनी केएफसी (केन्टुकी फ्राइड चिकेन)ले पनि पुरुषको ठाउँमा महिला मस्कट राखेको थियो।