सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेड्रिङ कर्पोरेशनले ७३ करोड ९३ लाख रुपैयाँ कूल मुनाफा आर्जन गर्न सफल भएको छ।
कर्पोरेशनले गत वर्ष भन्दा यस वर्ष ६१ करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गर्दै कूल मुनाफा ७३ करोड ९३ लाख रुपैयाँ पुर्याउन सफल भएको हो।
कर्पोरेशनको ५१ औं स्थापना दिवसमा आयोजना गरिएको कार्यक्रममा ८ अर्ब ५८ करोड रुपैयाँको कारोवार भएकोे जनाइएको थियो। कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले उपभोक्ताको हितलाई ध्यानमा राखेर न्यून मुनाफा लिएर कारोबार गरिरहेकोे बताए।
कर्पोरेशनले पूँजीको अभावमा व्यापार, व्यवसायको दायरा बढाउन नसकिएको पनि स्पष्ट पारेको छ। कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले पूँजीको अभावका कारण व्यापार, व्यवसायको दायरा बढाउन नसकिएको बताइन्।
कर्पोरेशनले खाद्य सुरक्षा अन्तर्गतको कामलाई आगामी दिनमा प्राथमिकताका साथ अघि बढाउने तयारी गरेको जनाएको छ। खाने नुन नै कर्पोरेशनको मुख्य कारोबार हो।
पेट्रोलियम पदार्थ विक्री गर्ने कर्पोरेशनले योजना बनाए पनि अझै लागू गर्न सकेको छैन। प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पेट्रोलियम पदार्थको कारोबार गर्ने अनुमति आयल निगमबाट लिएको भन्दै चाँडै संचालनमा आउने बताइन्।