निजी क्षेत्रको पहिलो मोवाइल सेवा प्रदायक एनसेलको ग्राहक संख्या गत एक वर्षको अवधिमा १०.१९ प्रतिशतले वृद्दि भएको छ।
यससँगै एनसेलको ग्राहक संख्या १ करोड ६४ लाख पुगेको कम्पनीको प्रमूख लगानीकर्ता आजियाटाले जनाएको छ।
आजियाटाले २०१७ को चौथो त्रैमासिकको रिपोर्ट सार्वजनिक गर्दै जनवरी देखि डिसेम्बर सम्ममा १५ लाख १६ हजार नयाँ ग्राहक थपिएको बताएको छ।
अन्तर्राष्ट्रिय लामो दुरीको कलबाट हुने एनसेलको आम्दानी १९.६ प्रतिशतले घटेको आजियाटाले बताएको छ।
पछिल्लो समय विदेशबाट नेपाल फोन गर्न र नेपालबाट विदेशमा फोन गर्नका लागि इन्टरनेट सेवाको प्रयोग बढी हुने गरेकाले एनसेलको आम्दानीमा गिरावट आएको छ।
एनसेलको २०१७ को कुल आम्दानी ५८ अर्ब ५४ लाख रहेको छ जसमा इन्टरनेट सेवाको आय पनि बढेको देखिन्छ।
कम्पनीका अनुसार कुल आम्दानीमा डाटाको योगदान १९ प्रतिशत रहेको छ भने ग्राहक संख्यामा झण्डै ४४ प्रतिशतले डाटा सेवा प्रयोग गरिरहेका छन्। फोरजी सेवाको सुरुवातसँगै डाटा प्रयोग गर्नेको संख्यामा वृद्दि भएको एनसेलले उल्लेख गरेको छ।
आजियाटा रिपोर्टका अनुसार २०१६ को तुलनामा २०१७ मा एनसेलको डाटा सेवा आय १७.९ प्रतिशतले बढेको छ।
कम्पनीका ग्राहकले गर्ने डाटाको खपत पनि २०१७ मा बढेर २ करोड ७७ लाख जिबी पुगेको छ। सन् २०१६ मा कम्पनीको कुल डाटा खपत अथवा ट्राफिक १ करोड २० लाख जिबी थियो।
एनसेलले हालसम्ममा देशका विभिन्न २१ शहरमा फोरजी सेवा पुर्याएको बताएको छ।