राजधानीको भृकुटीमण्डमा ७ औं अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मेलाको विहिबार प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका हुन्।
सो अवसरमा प्रधानमन्त्री ओलीले यहाँ लगानीका लागि रहेको प्रचुर संभावनाबारे बाह्य क्षेत्रलाई सन्देश पुर्याउनुपर्ने बताए। यस्ता मेलाले नेपालको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन पनि मद्दत पुग्ने उनले बताए। ‘उत्पादन विस्तार गर्दै रोजगारी सिर्जना, निर्यात वृद्धितर्फ अग्रसर हुन यस्ता मेलाले सहयोग पुग्ने अपेक्षा गरेको छु’ उनले भने।
उद्योगी व्यवसायीलाई भरपुर सहयोग गर्न तयार रहेको उनले बताए। ‘निजी क्षेत्रको सुभाव लिएरै सरकार अघि बढ्नेछ, त्यसका लागि आवश्यक कानूनहरु ल्याउने वा संशोधन गर्न सकिने कुरामा म विश्वास दिलाउन चाहन्छु’ उनले भने।
त्यस्तै अर्थमन्त्री युवराज खतिवडाले मुलुकको आर्थिक अवस्थाकाबारेमा निजी क्षेत्रलाई प्रशस्त जानकारी भएको बताउँदै सहयोग गर्न आग्रह गरे। मुलुकको प्रवद्र्धन तथा लगानी आकर्षण गर्न निजी क्षेत्रले साथ दिनुपर्नेमा उनले जोड दिए।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे। उनले भने ‘तपाईहरु काम गर्नुहोस्, लगानी गर्नुहोस्, बीचमा आएका जस्तोसुकै झमेला निराकरणका लागि हामी तयार छौँ।’
सरकारले लगानीको प्रत्याभूति र प्रवद्र्धनमा लाग्ने उनले बताए। निजी क्षेत्रलाई व्यवसायका क्रममा कसैले अवरोध गर्न खोजेमा तत्काल कारबाही गर्ने उनले बताए। उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको अभियानका लागि महासंघले सुरुआत गरिसकेको बताइन्।
मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी सामाग्रीहरु, शिक्षा, फलाम तथा स्टील, सवारी साधन लगायत रहेका छन्।
मेलामा नेपाल सहित चीनबाट ७४, बंगलादेशबाट २१, पाकिस्तानबाट १५र भारतबाट १५ गरि मेलामा ३ सय बढी स्टल रहेको महासंघले जनाएको छ।
महासंघले मेलालाई प्रत्यक्ष खरिद विक्रिका साथै व्यवसायिक सम्बन्ध विस्तार, व्यवसायिक सम्झौता, संयुक्त लगानी आकर्षण तथा व्यवसायीक सहकार्यलाई थालनी गर्ने अवसरको रुपमा लिएको बताएको छ।
२८ गते सम्म चल्ने यो मेला २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य राखिएको महासंघले जनाएको छ।