दक्षिण एसियाली सहयाेग संगठनका सदस्यम आठ राष्ट्रका उद्योगी व्यवसायी तथा थिंक ट्यांकका प्रतिनिधि सम्मिलित सार्क विजनेश लिडर्स कनक्लेभ नेपालमा हुने भएको छ।
आगामी चैत २ देखि ४ सम्म काठमाडौंको हायात होटलमा हुने ६ औं भेलामा २ सयको संख्यामा सहभागी हुने आयोजक सार्क चेम्वर अफ कमर्श एण्ड इन्डस्ट्रिले जानकारी दिएको छ।
तीन दिनसम्म चल्ने सम्मेलनमा सार्क क्षेत्रको साझा संवृद्धि, सार्क देशहरुमा व्यापार र लगानी प्रवद्र्धन, आर्थिक र राजनीतिक संकट, विश्व अर्थव्यवस्थामा सार्कको भूमिका, उर्जा र सहकारी क्षेत्रमा सार्कमा भएको सफलता र आगामी कार्यदिशा लगायतका विषयमा छलफल हुने सार्क चेम्बरका अध्यक्ष सुरज बैद्यले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनको दोस्रो दिन विभिन्न सातवटा विषयमा समानान्तर प्यानल छलफल र तेस्रो दिन पाँच वटा विषयमा प्यानल छलफल गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।
अन्तिम सत्रमा सार्क देशहरुका वाणिज्य मन्त्रीहरु सम्मिलित छलफल कार्यक्रम रहेको छ । सम्मेलनमा ५० जना प्रतिष्ठित वक्ताहरुले सहभागिता सुनिश्चित भएको आयोजकले जनाएको छ । त्यस्तै उपस्थतिको लागि २०० र्साक राष्ट्रका प्रतिनिधिहरु, निजी क्षेत्र, प्राज्ञिक व्यक्तित्वहरु तथा सञ्चारमाध्यमको सहभागिता रहने बताइएको छ ।
सार्क राष्ट्रका अग्रणि व्यवसायीको छैटौ सम्मेलन हुनथाल्दा यो सँगै नेपालले दोस्रो पटक सम्मेलनको आयोजना गर्दैछ । यसअघि सन् २०११ मा पनि नेपालमा सम्मेलन गरिएको थियो । २०१८ मा गर्न थालिएको सम्मेलन यसअघि पाकिस्तानमा राखिए तापनि त्यहाँ नहुनेभएपछि अध्यक्ष वैद्यको पहलमा नेपालमा गर्न थालिएको सार्क चेम्बरका उपाध्यक्ष ओम राजभण्डारीले बताए ।
सार्क चेम्वरका अध्यक्ष सुरज वैद्यले यो सम्मेलनको नेपालले भरपुर फाइदा उठाउनु पर्ने बताए। उनले सार्क क्षेत्रका सर्वसाधरण र व्यावसायिहरुले सार्कको सर्वोच्च संस्थारुपमा रहेको सार्क चेम्बरबाट धेरै आश गरेता पनि सोही राजनीतिक किचलोको कारण सोही अनुसार काम हुन नकसकेको बताए।