कर्णाली प्रदेशको राजधानी सुर्खेत काठमाडौंसँग प्रत्यक्ष हवाई सम्पर्कमा जोडिने भएको छ।
बुद्ध एयरले वैशाख १ गते देखि पुनः काठमाडौं–सुर्खेत–काठमाडौं उडान सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाए लगत्तै सिधा हवाई उडान भर्ने तयारी गरेको हो।
बुद्ध एयरले १८ सिट क्षमताको बिच १९०० डि जहाजबाट काठमाडौं–सुर्खेत–काठमाडौंको दैनिक एक उडान भर्ने योजना बनाएको छ।
नेपाल सरकार तथा नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिक्तम एकतर्फी भाडा दर ११ हजार ४ सय १९ रुपैयाँ भएता पनि आधा सिट ८ हजार ५ सय रुपैयाँ र बाँकी आधा सिट १० हजार ५ सय रुपैयाँमा बेच्ने कम्पनीले जनाएको छ।
यसअघि पर्याप्त यात्रु नपाएको भन्दै एयरले २०७० असारबाट सुर्खेतकाठमाडौं प्रत्यक्ष उडान रद्ध गरेको थियो।
बुद्ध एयरले आफ्नो पुनः उडानले पर्यटन लगायत अन्य क्षेत्रहरुमा पनि आर्थिक वृद्धि तथा समुचित प्रदेशकै समृद्धिमा टेवा पुग्ने बताएको छ।
नेपाल एयरलाइन्सले समेत चैत २१ गतेदेखि सुर्खेत उडान भर्ने बताएको छ। एयरलाइन्सका प्रमुख सुगतरत्न कंसकारले चैत २१ गते सम्ममा उडान गर्ने बताए।
यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्य मन्त्रीबीच कर्णालीको पर्यटन विकास सम्बन्धी बुधबार भएको छलफलमा प्रत्यक्ष हवाई उडान गर्ने निर्णय भएको थियो।
मन्त्रालयमा भएको छलफलमा सहभागी नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक, नेपाल एरलाइन्स, बुद्ध एयर, तारा एयर, सिता एयर, सिम्रिक एयरलाइन्ससहित विभिन्न हवाई सेवा प्रदायकको उपस्थिति रहेको थियो।
व्यवसायिकरुपमा फाइदा नभएको भन्दै एयरलाइन्स कम्पनीहरुले सुर्खेत उडान भर्ने गरेका थिएन्न।
तर केहि समय उडानमा घाटा भए उक्त समयलाई बिशेष सहयोग गर्न केन्द्रसँगै प्रदेश सरकार सकारात्म देखिएको भन्दै नेपाल एयरलाइन्स र बुद्ध एयर उडान सुरु गर्न सहमत भएका हुन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव कृष्ण प्रसाद देवकोटाले उडान सेवा सहज बनाउन सम्बन्धित नीति ऐन कानुन मापदण्ड तथा कार्यबिधि आवश्यक्ताका आधारमा परिवर्तन तथा परिमार्जन गरि आउँदा दिनमा मन्त्रालयले सहयोग पुर्याउने बताए।