सार्वजनिक बिदा गर्ने सरकारी निर्णयको नेपाल चेम्बर अफ कमर्शले स्वागत गरेको छ।
निजी क्षेत्रले विगतदेखि उठाउँदै आएको मुद्दा सरकारले सुनुवाइ गरेकोमा खुसी व्यक्त गर्दै चेम्बरले सरकारलाई धन्यवाद दिएको छ।
‘हामीले निरन्तर राख्दै आएको मागको सुनुवाइ गरी बिदा कटौती गरेकोमा हामी सरकारप्रति आभार व्यक्त गर्दछौं’, चेम्बरद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
सार्वजनिक धेरै हुँदा मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पारेको भन्दै चेम्वरले बिदा कटौती गर्न सरकारसँग निरन्तर माग राख्दै आएको थियो।
सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरी बिदा कटौती गरेको हो ।
मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पुरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्य दिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको थियो ।
यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ ।