सरकारले कम्पनीमा दर्ता भई सोही ऐनमार्फत यातायात संचालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ।
आफ्ना मागहरुका सम्वन्धमा ज्ञापन पत्र बुझाउन गएका व्यवसायीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्णय फिर्ता नहुने जनाउँदै कम्पनीमार्फत नै बसहरु संचालन गर्न आग्रह गरे।
आन्दोलनभन्दा बार्तावाटै समस्या समाधान गर्ने मनसायका साथ व्यवसायीहरु ज्ञापन पत्र बुझाउन गएका थिए। व्यवसायीहरुले मन्त्री महासेठ र गृह मन्त्री राम बाहादुर थापालाई ज्ञापन पत्र बुझाएका छन्।
महासेठले समितिमार्फत हुने दर्ता तथा नवीकरण बन्द गराउने निर्णय फिर्ता नहुने बताए। आन्दोलनको कार्यक्रम फिर्ता गरेर कम्पनीमार्फत यातायात संचालन गरेमा आवश्यक सेवा सुविधा उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको उनले बताए।
व्यवसायीहरुले भने सरकारको निर्णय आफूहरुको हितमा नरहेको भन्दै ज्ञापनपत्रमार्फत तत्काल फिर्ता लिन दवाव दिए। सरकारको निर्णय आफूहरुको हित विपरित भएकाले फिर्ता लिन ज्ञापन पत्र बुझाएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए।
‘दुवै मन्त्री ज्युहरुलाई ज्ञापन पत्र बुझाएका छौँ, उहाँहरुले पनि ब्यवसायीको समस्या बुझ्नुहुनेछ भन्ने हाम्रो विश्वास हो’ सिटौलाले भने।
सरकारले यातायातसँग सम्बन्धित संस्थाहरुका समिति खारेज गरी कम्पनी ऐनमार्फत दर्ता, नवीकरण तथा संचालन गर्ने निर्णय गरेपछि त्यसको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन्।
लामो समयदेखिको यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोडिएको जनाउँदै सरकारले आफ्नो निर्णयबाट पछि नहट्ने बताउँदै आएको छ। यातायात व्यवसायीले संशोधित यातायात व्यवस्थापन कार्यविधी निर्देशिका खारेजीको माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका हुन्।
https://www.youtube.com/watch?v=VCscyLbtzGc&feature=youtu.be