वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झण्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्केका अर्जुनधारा नगरपालिका–७ का अम्बिकाप्रसाद घिमिरेको जीवनमा ठूलै उतारचढाब आएको छ।
विदेशमा रहँँदा अर्काको मजदूरी गरेर जवानी बिताएका उनी अब स्वदेशमै रहेर सफल व्यवसायी बनेका छन्।
बीस महिनाअघि स्वदेश फर्कैका उनी अहिले टेम्पो चलाउन व्यस्त छन्। झापाका ग्रामीण क्षेत्रदेखि सहरका गल्ली गल्लीमा उनी टेम्पो गुडाउँछन्। टेम्पो चलाएरै उनले विदेशको भन्दा राम्रो कमाइ गरिरहेका छन्।
पहिले नै यो काम थालेको भए त्यतिका वर्ष विदेशमा पसिना बगाउनु पर्ने थिएन कि भन्ने पछुतो पनि उनलाई लाग्ने गर्दछ।
पुनः विदेश फर्किने सोचका साथ छुट्टीमा घर आएका घिमिरेले एकाएक गाउँघरमै बसेर कुनै व्यवसाय गर्ने उत्साह बढेर गयो। पहिले त के व्यवसाय गर्ने भन्ने निर्णय गर्न गाह्रो भयो तर पछि उनले टेम्पो किनेर चलाउने निधो गरे।
सुरुमा एउटा टेम्पो किने। बजाज कम्पनीको टेम्पो किनेर चलाउन सुरु गरेका उनी सोही टेम्पोको कमाइले चार महिनाअघि पुनः अर्को टेम्पो किन्न सफल भए। दैनिक दुई हजार माथि कमाई हुन थालेपछि उनको विदेशप्रतिको मोह टरेर गयो।
घरमै बसिबसी मासिक ५० हजार रुपैयाँ माथि कमाई गर्न थालेपछि १७ वर्ष विदेशमा श्रम र पसिना बगाएका नेपाल नेपाल फर्केका उनलाई अहिले नेपाल स्वर्ग झैँ लाग्न थालेको छ।
बिहान आठ नबज्दै टेम्पो लिएर निस्केका उनी बेलुका घर फर्कदा कम्तीमा पनि दुई हजार रुपैयाँ कमाई गरेर मात्रै फर्कन्छन्। खर्च कटाएर मासिक ५० हजार रुपैयाँ माथि कमाई गर्न थालेपछि घिमिरे यतिबेला दङ्ग मात्र छैनन्, भविष्यमा यसलाई अझ बढाउँदै लैजाने योजना बुन्न थालेका छन्।
घिमिरेकी श्रीमती रञ्जनाका दुवै मृगौला खराब छन्। १५ महिनादेखि उनकी श्रीमती बिरामी परेपछि श्रीमतीको औषधि उपचारका लागि उनले १० लाख रुपैयाँ खर्च गरिसकेको बताउँछन्।
त्यति ठूलो खर्च गर्नसक्ने औकात उनलाई टेम्पोकै कमाइबाट सम्भव भएको हो। ‘‘यति व्यवसाय नगरेको भए त आज साहूसँग चर्को ब्याजमा ऋण लिनुपर्ने वाध्यता हुने थियो’’ उनी भन्छन्।
घिमिरेले श्रीमतीको उपचार अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गराइरहेको बताउँछन्। उनले १० वर्षीया छोरीलाई निजी विद्यालयमा भर्ना गराएका छन्।
मृगौला खराबीका कारण विरामी श्रीमतीको रेखदेसँगै घरमै बसेर टेम्पो चलाएको भरमा मनग्य आम्दानी गर्न थालेपछि उनलाई घर खर्च टार्न कुनै समस्या छैन।
स्वदेशमा रोजगारी पाइएन भनेर विदेसिने युवाको संख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा अर्जुनधाराका पौडेल प्रतिनिधि पात्र मात्रै हुन्। उनी जस्ता धेरैले अहिले यही टेम्पो कुदाएरै जीवन निर्वाह गरिरहेका छन् भने भाडामा टेम्पो चलाउँदै आएका कतिपयले आफैँ टेम्पो किनेर मनग्य आम्दानी गरिरहेका छन्।
झापाका सडकमा अहिले झण्डै तीन हजारभन्दा बढी टेम्पो गुड्ने गरेका छन्। पछिल्लो समय हलुका सवारीका रुपमा लोकप्रिय बनेको तीन पाङ्ग्रे टेम्पो धेरैको यातायातको साधन बनेको छ। रासस