भारतको अमुल डेरीलाई नेपाल आउन नदिन नेपालका डेरी व्यवसायीहरुले सरकारलाई अनुरोध गरेका छन्। आत्मनिर्भर हुँदै गरेको डेरी क्षेत्रमा विदेशी कम्पनी आउँदा नेपाली व्यावसायीले हालसम्म गरेको लगानी जोखिममा पर्ने भन्दै उनीहरुले अमुललाई रोक्नुपर्ने बताएका छन्।
नेपालका प्रधानमन्त्री केपी ओली भारत भ्रमण जाँदा भारतले नेपालको कृषि क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। त्यहीअनुसार भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा अमुलको मिनी प्लान्ट स्थापना गर्ने घोषणा गर्ने बताइएको छ।
भारतमा सहकारी मोडलबाट संचालित अमुलले नेपालमा कृषकहरुलाई उत्पादन बढाउन तालिम, सहयोग जस्ता काम पनि गर्ने बताइएको छ।
नेपाल दुधमा आत्मनिर्भर हुनै लागेको समयमा अमुल डेरी आउँदा नेपाली उद्योगले प्रतिस्पर्धा गर्ननसक्ने डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडिया बताउछन्।
‘कुरो अमुलकोमात्र होइन कृषिजन्य अन्य उद्योग जस्तै पोल्ट्रीमा विदेशी लगानी रोकिएको छ तर डेरीमा किन ल्याउनुप¥यो’ उनले सेतोपाटीसँग भने।
८० प्रतिशत दुध अहिले नेपाली बजारलेमात्र धानेकोले आत्मनिर्भर हुने बाटोमा रहेको उनको भनाइ छ।
अमुल आएपछि उसले कच्चा दुध पनि भारतबाटै ल्याउने भएकोले उसँग नेपाली उद्योगले प्रतिस्पर्धा गर्ननसक्ने उनको भनाइ छ। नेपालमा अहिले पनि मागको ८० प्रतिशतमात्र दुध उत्पादन हुने भएकोले अमुलले भारतबाटै दुध ल्याएर नेपालमा प्रसोधन गर्ने उनको अनुमान छ।
तर अमुल आउने कुरा सरकारी स्तरमा औपचारिकरुपबाट कुनै पनि प्रस्ताव नआएको उद्योग विभागले जानकारी दिएको छ।
भारतमा दैनिक २५ लाख लिटर दुध संकलन गरिरहेको अमुलसँग ६ लाख ९४ हजार दु्ध उत्पादकहरु जोडिएका छन् भने १ हजार ७ सय गाउँ दुध उत्पादक सहकारी पनि संलग्न रहेका छन्।