निजी क्षेत्रको हवाई सेवाप्रदायक बुद्ध एयरले नेपालगंज विमानस्थलबाट भारतको नयाँ दिल्ली सिधा उडान गर्ने घोषणा गरिसकेको छ।
बुद्ध एयरको उक्त घोषणबाट नेपालगंजका स्थानीय तहदेखि आसपासका अरु जनप्रतिनिधिहरु उत्साहित भएका छन्।
श्री एयरलाइन्सले नेपालगंजबाट भारतीय सहरमा उडान गर्न भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिइसकेको छ।
अन्तर्राष्ट्रिय विमानस्थल भन्नेवित्तिकै कान ठाडा पार्ने राजनीतिक नेतादेखि स्थानीय व्यापारीसम्म यसबाट खुसी नहुने त कुरै भएन। व्यावसायिक अध्ययन तथा तयारी विना अन्तर्राष्ट्रिय विमानस्थलको लहड चलेको समयमा अहिलेकै विमानस्थलबाट सिमापार उडान गर्ने प्रस्तावबाट नेपालगंज आसपासका जनप्रतिनिधिहरु अग्रसर भएका हुन्।
संघीय सरकारले बजेटमा क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने घोषणा गरिसकेको नेपालगंज विमानस्थलबाट भारतका विभिन्न सहर उडान गर्नेगरी बुद्ध एयरको घोषणा र अरु एयरलाइन्सको तयारीसँग त्यहाँ पूर्वाधार निर्माणमा स्थानीय तहले अग्रसरता लिएका छन्।
नेपालगंज सहरकोमात्र नभएर कर्णाली प्रदेशकै आर्थिक गतिविधिमा योगदान गर्ने भन्दै नेपालगंज उपमहानगरपालिकाले विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवस्यक पूर्वाधार बनाउन प्रादेशिक र संघीय सरकारसँग पहल गरिरहेको छ।
पहिलेदेखि नै पहल गरिएको र एयरलाइन्सले उडानको घोषणा गरिसकेपछि आफूहरुलाई औपचारिकरुपमा कुरा अघि बढाउन सजिलो भएको बताउछन् उपमहानगरका मेयर धवल शमशेर राणा।
५७ वर्ष अघि संचालनमा आएको नेपालगंज विमानस्थलबाट बुद्ध एयरले उडाइरहेको एटिआर ७२, श्री एयरलाइन्सले उडाइरहेको बम्बार्डियर ७०० लगायतका जहाजबाट भारतका विभिन्न सहरमा उडान गर्न सकिने अवस्था छ।
नेपालगंज विमानस्थलमा केही पूर्वाधार थप गरेर वा स्तारोन्नती गरेर उडान क्षेत्री उडान गराउन निर्वाचित भएलगत्तै पहल सुरु गरेपनि प्रदेश र संघीय सरकारले खासै वास्ता नगरेको नेपालगंज उपमहानगर उपप्रमुख उमा थापामगरको भनाइ छ।
‘हामीले आउनेवित्तिकै सबैसँग पहल गरेका थियौं तर उहाँहरुले खासै चासो देखाउनुभएन’ उनले सेतोपाटीसँग भनिन्।
मानसरोवर जाने भारतीयहरुको ठुलै संख्या भएपछि अन्तर्राष्ट्रिय उडान सम्भव हुने सरोकारवालाहरुको अनुमान छ। नेपालबाट पनि प्रसस्तमात्रामा नेपालीहरु भारत जाने भएकोले नेपालगंजबाट उडान आवस्यक भएको थापामगरको भनाइ छ।
नेपालगंजबाट व्यावसायिक उडान सम्भव देखेर नेपालको अग्रणी एयरलाइन्स बुद्ध एयरले घोषणा गरिसकेको छ। भारतबाट मानसरोबर जाने यात्रुहरुलाई लक्षित गरेर उसले त्यहाँबाट उडान गर्ने योजना बनाएको छ।
क्षेत्री उडानका लागि केही प्रक्रिया र पूर्वाधार भने अनिवार्य आवस्यक हुन्छन्। भन्सार कार्यालय, अध्यागमन र टर्मिनल भवन आवस्यक हुन्छ। टर्मिनल अहिलेकैलाई भाग लगाएर बनाउन सकिने विमानस्थल कार्यालयका अधिकारीहरुको भनाइ छ।
प्रक्रिया र पूर्वाधार पुरा गर्न ८ महिनासम्म समय लाग्ने र त्यसपछि उडान सम्भव हुने बुद्ध एयरका अध्यक्ष बिरेन्द्र बहादुर वस्नेतको भनाइ छ।
कतिपय त्यस्ता पूर्वाधार र प्रक्रियाको लागि स्थानीयस्तरबाट पहल हुनुपर्ने उनको भनाइ छ।
एक दिनमा ३ उडान गर्ने योजना बनाएको बुद्ध एयरले वर्षमा एकतर्फी ७० हजार सिट सिर्जना गर्ने घोषणा गरेको छ। यसको मतलब भारतबाट नेपागंज विमानस्थलमा ७० हजारसम्म यात्रु् आउनसक्छन्।
सबैभन्दा ठुलो समस्या भनेको हवाई रुटको हो। अहिले भारतबाट नेपाल आउँदा सिमरा भएरमात्र नेपालभित्र जहाज आउन पाउछन्। त्यसरी आउँदा दिल्लीबाट नेपालगंजको व्यावसायिक उडान सम्भव हुने देखिदैन।
हाल जानमात्र मिल्ने महेन्द्रनगर रुटबाट जान मिल्लने गरी भारतले स्वीकृति दिएमा हवाई दुरी एटिआरको लागि १ घण्टा ५ मिनेटकोमात्र हुने छ। यसहिसाबले भाडा पनि सस्तो हुने बस्नेतको भनाइ छ। यद्यपी भाडा निर्धारण गर्नलाई विमानस्थलमा लाग्ने अन्य शुल्कले भुमिका खेल्ने उनले बताए।
नेपालगंजबाट दिल्ली सिधा उडान गर्नका लागि महेन्द्रनगर हवाई रुट अनिवार्य रहेको छ। रुट दिने विषयमा भारतले यसअघि नै सैद्धान्तिक सहमति दिइसकेको छ तर त्यसको प्राविधिक अध्ययन तथा सहमति हुन भने बाँकी छ।