एउटै नाम र लाइसेन्सबाट दुई वटा क्यासिनो सञ्चालन भएको तथ्य बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले छानबिन सुरू गरेको छ ।
भैरहवास्थित लाकौल होटलमा सञ्चालित ह्याप्पी आवर प्रा.लि. गेमिङ क्लव मिनि क्यासिनोको नामबाट भैरहवामै रहेको होटल नान्स प्रा.लि.मा पनि रूपा इन्टरनेशनलले क्यासिनो सञ्चालन गर्दै आएको छ ।
एउटै लाइसेन्सबाट फरक फरक शहरमा कम्तिमा ४ वटा मिनी क्यासिनो सञ्चालन गर्न पाईने कानूनी व्यवस्था भए पनि भैरहवामा भने एउटै लाइसेन्सबाट ५० मिटरको दूरीमा दुई वटा क्यासिनो सञ्चालनमा रहेको पाईएको हो।
लाईसेन्स बिना राजश्व नतिरी रूपाले नान्समा क्यासिनो सञ्चालन गरेको तथ्य बाहिरिएपछि सत्यतथ्य बुझ्न छानबिन थालेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले सेतोपाटीलाई जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयले छानबिनको लागि गरेको पत्राचार पछि बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा ह्याप्पीका सञ्चालकले आफ्नो क्यासिनो बैधानिक भएको भन्दै विभिन्न निकायबाट प्राप्त प्रमाण पेश गरेका छन्। रूपाका सञ्चालकले भने कुनै प्रमाण पेश नगरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी रानाले क्यासिनोको बारेमा समाचार बाहिरीएपछि छानबिनको लागि बोलाए पनि एउटाले कागजात बिना उपस्थित भएकोले एक दुई दिनमा कागजातसहित उपस्थित हुन समय दिईएको बताए ।
‘ह्याप्पीले विभिन्न कागजात बुझाएको छ तर अध्ययन गर्न बाँकि छ, रुपाले भने कागजात बुझाएको छैन, एक/दुई दिनमै यथेष्ट प्रमाण लिएर आउन भनी कागज गरेर पठाएका छौं’, प्रजिअ राना मगरले भने ।
छानविन पछि गैरकानुनी रुपमा सञ्चालनमा रहेको पाईए क्यासिनो बन्द गर्ने उनले बताए।
ह्याप्पी आवरको नाममा रहेको लाइसेन्सबाट रुपा इन्टरनेशनलले २०६८ मा नान्समा क्यासिनो सञ्चालन गर्ने गरी सम्झौता गरेकोे थियो ।
सम्झौता अनुसार केही महिना सञ्चालनमा आएपछि ह्याप्पीका संचालक सुरेन्द्र बहादुर सिंह र नान्समा सञ्चालित क्यासिनो रुपाका सञ्चालक मनोज सुवेदीबीच विवाद भएपछि क्यासिनो लाकौलमा सरेको थियो।
लाकौलमा क्यासिनो सरेपछि रुपा कम्पनी नै खारेजीको प्रक्रियामा गएको छ। तर सम्झौता तोडिएपछि पनि पुनः रुपाले नान्समा ह्याप्पी आवरको नाममा विगत १५ महिनादेखि अवैध रुपमा क्यासिनो सञ्चालन गर्दै आएको हो । रुपाले क्यासिनो संचालन वापतको रोयल्टी समेत तिरेको छैन।