विश्वकै ध्यानाकर्षण गर्न सफल विश्वकप फुटबल सबैको दैलोमा आइपुग्न लागेको छ।
२१ औं संस्करणको विश्वकप फुटबल आजदेखि रसियामा सुरू हुँदैछ।
पोखरामा पनि विश्वकपको रौनकले छपक्कै छोएको छ। पसल तथा रेष्टुरेण्टहरूमा विश्वकपमा सहभागी हुने राष्ट्रका झण्डाले सजिएका छन्। सडकमा युवा–युवतीहरू जर्सीमा देखिन्छन्।
खेलकुदसम्बन्धी सामान विक्री गर्ने पसलहरू विश्वकपलाई टार्गेट गरेर जर्सी, झण्डा, फुटबल लगायतका सामग्री बेच्न भ्याइनभ्याइ छ।
जर्सी समेत पुर्याउन कठिन भएको व्यापारी बताउँछन्। सबैभन्दा बढी अर्जेन्टिनाको जर्सी माग रहेको पोखराको विशाल बजारमा रहेको बाकेलाल स्पोर्ट सेन्टरका सञ्चालक मोहन कुँवरले बताए।
उनका अनुसार त्यसपछि ब्राजिल, जमर्नी, फ्रान्स, पोर्चुगल, स्पेन, इङ्गल्याण्ड, बेल्जियम, जापान, फ्रान्स, मेक्सिको लगायतका देशका जर्सी बढी माग रहेको उनले बताए।
उमेर अनुसार ठूला, साना हाफ, फूल सबै खाले जर्सी विक्री भइरहेको व्यापारीहरू बताउँछन्।
नेपालमा चीन, थाइल्याण्ड र बंगलादेशबाट जर्सीहरू आएका छन्। पोखराका फूटपाथदेखि मलसम्म जर्सी धमाधम विक्रीमा छन्।
दैनिक १ हजारभन्दा बढी जर्सी विक्री भइरहेको व्यापारीहरूको भनाइ छ। जर्सीको ग्रेड अनुसार ५ सय ५० देखि ११ सय ५० सम्म पर्ने गरेको छ। गुणस्तरको आधारमा मूल्य निर्धारण हुन्छ।
कोही युवाहरू मेस्सीका कारण अर्जेन्टिनाको पक्षमा छन् त कोही रोनाल्डोका कारण ब्राजिलका पक्षमा छन्। आफूले रोजेको टिमले नै जित्छ भन्नेमा उनीहरूको दाबी छ।
विश्वकपको माहोलले जर्सीको मात्रै व्यापार बढेको छैन टेलिभिजनको पनि उत्तिकै व्यापार बढेको देखिन्छ।
स्मार्ट तथा ठूला टेलिभिजनको व्यापार ह्वातै बढेको व्यापारीहरूको भनाइ छ। टेलिभिजन कम्पनीहरूले नै विश्वकप फुटबललाई लक्षित गरेर छुटको समेत व्यवस्था गरेको व्यापारीहरू बताउँछन्।
रेष्टुरेण्ट तथा घरहरूमा पनि ठूला र स्मार्ट टेलिभिजनको माग बढिरहेको पोखराको डिजिटल साउण्ड एण्ड भिजनका सञ्चालक मनोहर श्रेष्ठले बताए।
पोखराका टेलिभिजन विक्री गर्ने पसलदेखि, रेष्टुरेण्टहरूले विश्वकपमा सहभागी हुने राष्ट्रहरूको झण्डाले सजाएका छन् भने कतै खेलाडीको पोष्टर समेत बनाएर राखेका छन्।
दर्शकलाई ठूला पर्दामा फुटबल देखाउनका लागि रेष्टुरेण्टहरूले तयारी समेत गरेका छन्। ११ वटा एलइडी टिभी तथा ठूला स्क्रिनमा फुटबल देखाउने तयारी गरेको पोखरा लेकसाइडमा रहेको प्याराडाइज स्पोर्ट बारका म्यानेजर हरी पौडेले बताए।
विश्वकप फुटबल प्रतियोगितामा आयोजक रसियासहित ३२ टोलीको सहभागिता रहेको छ।
नेपाली समय अनुसार दिउँसोबाटै फुटबल सुरू हुने भएकाले पनि धेरै नेपालीले हेर्न अपेक्षा छ।