काठमाडौंको इन्द्रचोकभित्र नटराज नामको पसल छ। लामाे समयदेखि चलिरहेको उक्त पसलमा महिलाका लागि चाहिने प्राय सबै कपडा पाइन्छन्। छ महिना अगाडिसम्म पनि उक्त पसलबाट तिनै कपडा बिक्री हुन्थे जुन विगत लामो समयदेखि हुँदै आइरहेको थियो।
अहिले परिचय फेरिएको छ उक्त पसलको। पारिवारिक व्यापारमा युवापुस्ताले सम्हालेपछि पसल अब ब्रान्डको रुपमा स्थापित हुने तरखरमा छ। महिला मात्र होइन सबै प्रकारका फेसन तथा एसोसरिज उत्पादन गर्नेगरी व्यवसाय अघि बढाइरहेका छन् नटराजका प्रबन्ध निर्देशक अशुतोष अग्रवालले।
अशुतोष र उनका दाइ प्रतिक अग्रवालले नटराजमार्फत ‘जिबी ब्रुमेल’ ब्रान्डबाट उत्पादन सुरु गरिसकेका छन्। तत्काल सुट, सर्ट र प्यान्ट मात्र उत्पादन सुरु गरेको नटराजले क्रमशः जुत्तादेखि टोपीसम्म उत्पादन गर्ने योजना बनाएको छ।
सर्ट, पाइन्ट तथा एसोसरिजहरुको सर्वसाधारणमा ब्रान्ड सचेतना नेपालमा छैन। यस्तो अवस्थामा जिबी ब्रुमेल ब्रान्डलाई विश्व बजारमा लैजान चाहन्छन् अशुतोष।
अहिले बजारमा विभिन्न प्रकारका विदेशी ब्रान्डका कपडा तथा एसोसरिज आउँछन्। तर तिनका प्रतिस्पर्धी नेपाली उत्पादनमा नगन्य रहेकाकाले ब्राण्ड स्थापित गरेर गुणस्तरीयता प्रमाणित गर्न चाहेको उनको भनाइ छ।
‘अहिले नेपालमा नाइक, एडिडासका जुत्ता आउँछन् तिनीसँग प्रतिस्पर्धा गर्ने गोल्डस्टार छ। पोलो लगायतका अन्य विदेशी ब्रान्डका टिसर्ट आउँछन् त्यसको विकल्पमा फलानो लुगा छ तर सर्ट, प्यान्टमा आउने अन्य ब्रान्डका बिकल्प छैनन्’ उनले सेतोपाटीसँग भने ‘हामी आन्तरिक बजारमा नेपाली ब्रान्डलाई प्रतिस्पर्धी बनाउन चाहन्छौँ।’
जिबी ब्रुमेललाई नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारमा फेसन हाउसको रुपमा उठाउन चाहेको उनको भनाइ छ। सानो भुपरिवेष्ठित देश भएकै कारण नेपाली ब्रान्ड विश्व बजारमा जान नसक्ने मानसकिता कतिपयमा रहे पनि आफूहरु त्यसलाई तोडेर स्थापित छाड्ने उनको अठोट छ।
‘विदेशको ब्रान्ड नेपालमा आउँछ भने नेपाली ब्रान्ड पनि विदेशमा जानुप¥यो भन्ने हाम्रो उद्देश्य हो’ उनले भने।
नटराजले अहिले जिबी ब्रुमेल नामबाट आफ्नै डिजाइनमा क्याजुयल सर्ट र प्यान्ट बजारमा ल्याइसकेको छ। काठमाडौंका केही ठाउँमा आफ्नै आउटलेट खोल्ने तयारीमा रहेको नटराजले अहिलेका उत्पादन उपत्यकाका ब्रान्डेड हबका पसलहरुबाट बिक्री गरिरहेको छ।
नेपाली बजारको लागि काठमाडौं, विराटनगर र विरगंजमा उत्पादन युनिट राख्ने योजना बनाएका उनले विदेशी बजारको लागि इङल्यान्ड र बंगलादेशमा राख्ने तयारी भइरहेको बताए।
‘हाम्रो उत्पादन लागतको हिसाबले जहाँबाट सस्तो पर्छ त्यहाँ उत्पादन गर्छौँ, नेपालको लागि अहिले तत्काल काठमाडौंमा भइरहेको छ, आवस्यकताअनुसार विस्तार हुँदै जान्छ’ उनले भने। विदेशी बजारका लागि इङल्यान्डमा छिट्टै उत्पादन सुरु हुने उनको भनाइ छ।
जहाँबाट उत्पादन भएपनि डिजाइन भने नेपालबाटै हुने उनले बताए। अहिले नेपालको लागत मूल्य धेरै भएकोले नेपाली बजारकै लागि पनि विदेशबाट ल्याउन सकिने उनको भनाइ छ। उनका अनुसार अहिले विदेशमा उत्पादन गरेर ल्याएको सर्टको एक पिसमा नेपालको भन्दा ३ सय रुपैयाँसम्म सस्तो हुन्छ।
उच्च वर्गीय समाज बाहेक अरुलाई नछोएको ब्रान्ड संस्कृति विद्यमान रहेको समाजमा ब्रान्ड स्थापित गरेर विदेशमा पनि जाने नटराजको योजना महात्वाकांक्षी छ।
विदेशी ब्रान्डसँगको प्रतिस्पर्धा अर्को अप्ठेरो हुने छ। जिबी ब्रुमेलले कपडा र डिजाइन गुणस्तरको मात्र मूल्य लिने भएकोले चलेका विदेशी ब्रान्डसँग प्रतिस्पर्धा कठिन नभएको अग्रवाल बताउँछन्।
‘नाम चलेका विदेशी ब्रान्डले कपडा र गुणस्तरको मात्र होइन ब्रान्डको मूल्य पनि लिन्छन् जसको नाममा उनीहरुले धेरै खर्च गरेका हुन्छन्’ उनले भने, ‘तर हामीले गुणस्तरको मात्र पैसा लिइरहेका छौँ ब्रान्डको मूल्य लिएका छैनौँ।’
केही खाद्यन्न, जुत्ताको ब्रान्ड स्थापित भएपनि फेसनमा नेपाली ब्रान्ड नआएको र संस्कृति पनि विकास नभएकोले जिबी ब्रुमेललाई नेपाली बजार ठूलो अवसर रहेको उनको भनाइ छ।
‘जुन वर्गमा फेसन, ब्रान्ड, गुणस्तरको सचेतना छैन तिनिहरुलाई फेसन, गुणस्तर के हो कस्तो हुनुपर्छ भनेर सिकाउछौँ’ उनले भने। नेपाली बजार र विश्व बजारमा सँगसँगै जिबी ब्रमेललाई लिएर नेपालको पहिलो फेसन ब्रान्ड स्थापित गर्ने अग्रवालले बताए।