निजी क्षेत्रको वायुसेवा प्रदायक सौर्य एयरलाइन्सले ५ दिनदेखि सबै उडान बन्द गरेको छ। काठमाडौंबाट तराईका सहरहरुमा उडान गरिरहेको एयरलाइन्सले गएको आइतबारदेखि कुनै पनि उडान तथा अवतरण नगरेको विमानस्थल स्रोतले बताएको छ।
क्यानेडियन जहाज निर्माता कम्पनी बम्बार्डियरले बनाएका सिआरजे–२०० जहाजबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज र धनगढीमा नियमित उडान गरिरहेको सौर्यले पछिल्लो समय एउटामात्र जहाजबाट उडान गरिरहेको थियो।
एयरलाइन्सले दैनिक सात उडान गर्न पाउनेगरी अनुमति पाएको छ। यसरी उडान रोकिएपछि नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सलाई स्पष्टिकरण सोधेको एक अधिकारीले जानकारी दिए।
लामो समयदेखि जहाजमा प्राविधिक समस्या आएपछि एउटामात्र जहाजबाट उडान गरिरहेको एयरलाइन्सले आइतबारदेखि सबै उडान रोकेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
तर एयरलाइन्सका बजार व्यवस्थापक मुकेस खनालले एउटा जहाजमा पहिलेदेखि नै समस्या आएको र अर्कोमा पनि समस्या आएपछि उडान रोकिएको तर आउने आइतबारबाट सुरु हुने जानकारी दिए।
‘जहाजको एउटा पार्टस मगाएका छौं त्यो आएपछि नियमित उडानमा जान्छौं’ उनले सेतोपाटीसँग भने।
२०७१ मंसिरबाट चार्टर उडान सुरु गरेको एयरलाइन्सले २०७४ बाट नियमित उडान सुरु गरेको थियो। यात्रु हिस्साको हिसाबले राम्रै प्रदर्शन गरिहेको भएपनि एयरलाइन्स पछिल्लो समय आर्थिक संकटमा पर्दै गएको छ।