राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आफ्नो व्यावसायिक उडानको इतिहासमा पहिलोपटक वाइड बडी जहाज ल्याएको छ। लामो दुरीमा व्यावसायिक उडान गर्न र धेरै यात्रु बोक्ने जहाज किन्न बहस चलेको १० वर्षपछि एयरलाइन्सले एयरबसको ए ३३०–२०० सिरिजको वाइड बडी जहाज ल्याएको छ।
खरिद प्रक्रिया सुरू भएको करिब २ वर्षपछि एयरलाइन्सको पहिलो वाइड बडी जहाज बिहीबार बिहान सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। जहाज निर्माता कम्पनी एयरबसको फ्रान्समा रहेको कारखानाबाट एयरबसका पाइलटहरूले उक्त जहाज उडाएर ल्याएका हुन्।
लामो दुरीमा उडान गर्न मिल्ने २७४ सिट भएको जहाजमा १८ बिजनेस क्लास सिट रहेका छन्। जहाजमा २–२–२ फर्म्याटका १८ बिजनेस क्लास, २–४–२ फर्म्याटका इकनोमी क्लासका सिट छन्।
अन्नपुर्ण नाम दिइएको जहाजको नेपाली दर्ता नम्बर ‘नाइएन एएलवाइ’ रहेको छ।
वाइड बडी जहाज नेपाल एयरलाइन्समात्र भन्दा पनि देशकै पर्यटन उद्योगमा कोशेढुंगाको रुपमा सावित हुने एयरलाइन्सका प्रबन्ध निर्देशक सुगरत्न कंसाकारले बताए। यो जहाजले एकपटक धेरै यात्रुमात्र होइन लामो दुरीमा सिधा उडान गर्न सक्ने भएकोले नेपाललाई बाँकी विश्वसँग सम्पर्क स्थापित गर्न सहयोगी हुने उनको भनाइ छ।
‘वाइड बडीले वरिपरिमात्र उडान गर्ने होइन, यसले युरोप, अमेरिका, जापान तथा जहाँ आजको मितिमा सिधा उडान छैन त्यही गर्छ’ उनले भने,‘सिधा उडान हुँदा एकतिर पर्यटकहरूलाई नेपाल आउन सजिलो हुने छ भने अर्कोतिर एयरलाइन्सको व्यापार पनि राम्रो हुने छ।’
नेपालमा विदेशी पर्यटक कम आउनुको कारण महंगो र झन्झटिलो हवाइ यात्रा रहेको उनको भनाइ छ।
अब राष्ट्रिय ध्वजावाहकले युरोप तथा अमेरिकाका मुख्य हव विमानस्थलमा काठमाडौंबाट सिधा उडान गर्ने घोषणा गरे।
जहाज आएपछि सुरक्षा, मर्मतसम्भार र दैनिक कार्य संचालनलाई चुस्तदुरुस्त बनाउनु पर्ने र सबैले त्यसैगरी काम गर्नु पर्ने उनको भनाइ छ।
पर्यटन मन्त्री रवीन्द्र अधिकारीले भ्रमण वर्ष २०२० लाई सफल पार्न वाइड बडी जहाजको भूमिका महत्वपूर्ण हुने बताए। अहिलेसम्म प्रत्यक्ष हवाइ सम्पर्क नभएका ठाउँमा यसले जोड्ने भएकोले पर्यटकहरूको आगमन यसबाट बढ्ने उनको विश्वास छ।
जहाज आएपछि यसको संचालन र व्यवस्थापनमा ध्यानु दिनु पर्ने उल्लेख गर्दै मन्त्री अधिकारीले नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी बनाउन सन् २०१९ भित्रै थप २ न्यारो बडी जहाज खरिदको लागि सैद्धान्तिक सहमति दिइसकिएको बताए।
२०७३ चैतमा एयरलाइन्सले अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग खरिद सम्झौता गरेको थियो। ०७३ कात्तिकमा जहाज किन्न गरेको विश्वव्यापी टेन्डरमा एएआर कर्पोरेसनले एउटा विमानको १० करोड ४८ लाख अमेरिकी डलरको दरमा दुई वटा विमान उपलब्ध गराउने प्रस्ताव गरेको थियो।
एयरलाइन्सले जहाज किन्न नागरिक लगानी कोष र संचय कोषसँग १२/१२ अर्ब ऋण लिएको छ।
अर्को जहाज २५ जुलाईमा आउने कंसाकारले जानकारी दिए। आज आएको जहाजले नागरिक उड्डयन प्राधिरणबाट अनुमति पाएपछि अगष्ट १ (साउन १६) नियमित उडान सुरू गर्ने एयरलाइन्सले जानकारी दिएको छ।
कोरियाको इन्छन विमानस्थलमा उडान गर्ने घोषणा गरेको भए पनि नयाँ जहाजबाट नयाँ गन्तव्यमा उडान गर्न नपाइने भएकोले ३ महिना पुरानै गन्तव्यमा उडान गर्न लागिएको कंसाकारले जानकारी दिए।
२ वाइड बडी उडानका लागि १६ जना क्याप्टेन(पाइलट) चाहिने भएपनि निगमले अहिलेसम्म २ जनामा तयार पारेको छ। बाँकी पाइलटको लागि विदेशी कम्पनीहरुसँग कुरा भइरहेको एयरलाइन्सले जानकारी दिएको छ।
एउटा वाइड बडी जहाज उडाउन ८ क्याप्टेन र ८ कोपाइलट चाहिन्छन्। यसमा सुरुमा ४ जना क्याप्टेन र ६ जना कोपाइलट एयरलाइन्सले नै तयार गरिरहेको र अहिले २ जनामात्र क्याप्टेन तयार भएको कंसाकारले जानकारी दिए।
तस्बिरहरु: निशा भण्डारी/सेताेपाटी