उडान विस्तार गर्न श्री एयरलाइन्सले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको पाँच महिनाभन्दा बढी भयो। हाल बम्बार्डिएर सिआरजे सिरिजका जेटबाट आन्तरिक उडान गरिरहेको श्रीले बम्बार्डियरकै टर्वोपप क्यू ४०० जहाज ल्याउने भन्दै मन्त्रालयमा निवेदन दिएको थियो।
तर हालसम्म पनि श्रीले उक्त जहाज किन्ने अनुमति पाएको छैन। मन्त्रालयले जहाज थप गर्न अनुमति दिनको लागि नागरिक उड्डय प्राधिकरणमा रायका लागि पत्र पठाएको छ तर त्यहाँबाट राय नआउँदा श्रीको बारेमा निर्णय हुननसकेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ।
श्रीले हाल जेट विमानबाट उडान गरिरहेको र टर्वोपप थप गर्दा त्यसको नियमन गर्न सिमित जनशक्ती भएको प्राधिकरणलाई कठिन हुने भन्दै आनाकानी गरेको स्रोतको दावी छ। स्रोतका अनुसार प्राधिकरणले श्रीलाई कि जेट र नभए टर्वोपप ल्याउने भए एटिआर ल्याउन सुझाव पनि दिएको थियो।
तर बम्बार्डियर चलाएको श्रीले त्यही कम्पनीको टर्वोपप ल्याउने योजना बनाएको छ।
जहाजको निरीक्षण, परीक्षण तथा सुरक्षा जाँचको लागि सिमित जनशक्ती भएको भन्दै प्राधिकरणले नयाँ जहाज थप्न त्यति उपयुक्त नहुने प्राधिकरणले सुझाव दिएको थियो। नेपालमै पहिलोपटक आउन लागेको जहाजको लागि छुट्टै जनशक्ती तालिम दिनुपर्ने झनझट हुने प्रतिक्रिया पाएपछि श्रीले तालिम तथा प्रशिक्षणको व्यवस्था आफै गरिदिनेसम्मको प्रस्ताव गरेको थियो।
प्राधिकरणले भने नयाँ जहाज भएकोले त्यसको सुचना तथा प्राविधिक जानकारी लिन समय लागेको र अबको केही समयभित्रै राय पठाउने बताएको छ। जहाजको प्राविधिक जानकारी तथा सुरक्षाको पाटोको विश्लेषण गरिरहेको छिट्टै राय पठाउने तयारीमा रहेको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए।
श्री एयरलाइन्सले टर्बोपप जहाज ल्याएपछि त्यहीबाट भारतका विभिन्न सहरमा उडान गर्ने योजना बनाएको छ। हेलिकप्टर तथा टर्वोपप जहाजको अन्तर्राष्ट्रिय उडान लाइसेन्स पाएको श्रीले नयाँ जहाज ल्याएपछि त्यसबाट अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाएको छ।
अन्तर्राष्ट्रिय उडानका लागि मन्त्रालयमा आवेदन दिएको श्रीले तत्काल क्यू ४०० बाट नेपालबाट भारतीय सहरमा उडान गर्ने योजना बनाएको छ।