बुटवलमा रहेको मैनाबगर अटो भिलेज क्षेत्रलाई मदिरा मुक्त क्षेत्र घोषणा गरिएकोप्रति होटल व्यवसायीले विरोध जनाएका छन्। कुनै पनि व्यवसायीक संघ संस्थाले अर्को व्यवसाय नै बिस्थापित गर्ने गरी निर्णय गर्न नपाईने भन्दै होटल व्यवसायीहरू मदिरा मुक्त क्षेत्र घोषणाको बिरोधमा उत्रिएका हुन्।
बुटवल अटो इन्जिनियरिङ एशोसियसनले गत मंगलबार आफ्ने २३ औ वार्षिकउत्सवका अवसरमा अटो भिलेज क्षेत्रलाई मदिरामुक्त क्षेत्र घोषणा गरेको थियो। अटो इन्जिनियरिङ एशोसियसनले मदिराका कारण अटो क्षेत्रमा होहल्ला र लडाई झगडा बढ्न थालेको भन्दै मदिरा मुक्त क्षेत्र घोषणा गरेको थियो।
व्यवसायिक मर्यादाका लागि एशोसिशनले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र वडाध्यक्षहरुको सहभागितामा मदिरा मुक्त क्षेत्र घोषाणा गरेको हो।
उक्त घोषणाको विरोधमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले भेला आह्वान गरि होटल व्यवसायलाई विस्थापित गर्न नपाईने बताएको हो।
होटल व्यवसायी महासंघ उच्चस्तरीय संयन्त्रका संयोजक माधव नेपालले सेवामुखी व्यवसायीलाई कसैले पनि विस्थापित गर्न नपाईने बताए । कानुन सम्मत होटलहरु सञ्चालन गरी मदिरा बेचविखन गर्दै आएका व्यवसायीलाई विस्थापित गर्नेगरी अटो एशोसिएशनले गलत निर्णय गरेको बताए ।
उनले मदिराले ल्याएको विकृतिलाई सबै मिलेर रोक्ने तर्फ लाग्नुपर्नेमा व्यवसायीसंग छलफल र सल्लाह नै नगरी मदिरा विक्री वितरणमा नै प्रतिबन्ध लगाउन नपाईने बताए।
होटल व्यवसायी महासंघ उच्चस्तरीय संयन्त्रका महासचिव हिराध्वज शाहाले अटो भिलेज क्षेत्रलाई मदिरा मुक्त क्षेत्र घोषणा गर्ने अधिकार अटो एशोसिएशनलाई नभएको बताए । उनले बुटवल अटो इन्जिनियरिङ एशोसियसन राज्य नभएकाले उसले गरेका निर्णय मान्न नसकिने बताए ।
संघका रुपन्देही अध्यक्ष समुन्द्र जीसीले राज्यले होटल व्यवसायीलाई मदिरा वेच्न अन्त शुल्क प्रमाणपत्र दिएकोले अटो एशोसिएशनको निर्णय मान्न नसकिने बताए।
उनले मैनावगर अटो भिलेजले ओगटेको क्षेत्र जीतगढी किल्लाको भएकाले अन्यत्र स्थानान्त्रण गर्न समेत माग गरे।
एशोसियसनका अध्यक्ष शन्तोष पाण्डेले मदिराले समस्या निम्ताएकाले मदिरामुक्त क्षेत्र घोषणा गर्नुपरेको बताए ।
अटो भिलेज क्षेत्रभित्र अटो संगै होटल, किराना तथा अन्य गरी करिव ४ सय व्यवसाय संचालनमा रहेका छन् । जसमा ५५ बढी होटल सञ्चालनमा रहेका छन् ।
एशीयाली विकास बैंकको आर्थिक सहयोगमा नमुना अटो भिलेज निर्माण गर्ने योजनाका साथ तत्कालिन बुटवल नगरपालिका र अटो व्यवसायीका वीचको सम्झौता अनुरुप २०५७ सालदेखि अटो भिलेज संचालनमा आएको हो।