निजी क्षेत्रको वायुसेवा प्रदायक सौर्य एयरलाइन्स बिक्री हुने भएको छ। स्थापना भएको चारवर्षमै एयरलाइन्सको अहिलेको व्यवस्थापन बिक्री गर्ने निष्कर्षमा पुगेको छ। सौर्य एयरलाइन्स स्रोतका अनुसार एयरलाइन्स बिक्री हुने निश्चित भएको तर खरिदबिक्री सम्झौतामा हस्ताक्षर हुनमात्र बाँकी रहेको छ।
जेट जहाजबाट आन्तरिक हवाई सेवा सुरु गरेको एयरलाइन्स पछिल्लो समय आर्थिक संकटमा थियो। अपेक्षित बजार लिन नसकेपछि संचालन नोक्सानी बढ्दै जाँदा बैंकको व्याज, कर्मचारीलाई तलब र इन्धनको बक्यौता नै धेरै हुन थालेपछि उडान कटौति गर्दै आएको थियो।
कम्पनी किन्न गैरआवासीय नेपाली र केही नेपालीसहितको टिम तयार भएको स्रोतले जानकारी दियो। चीनमा व्यापार व्यवसाय गर्दै आएको श्याम अधिकारीको नेतृत्वमा खरिद हुने भएको छ। दुमन थापा लगायतका व्यवसायीहरु पनि नयाँ व्यवस्थापनमा आउने टिममा रहेका छन्।
सौर्य एयरलाइन्सको ऋण धेरै भएको र नयाँ व्यवस्थापनले त्यसमा ६० करोडमात्र सकार गर्ने बताएको छ। एयरलाइन्स संचालन गर्दा व्यवस्थापन टिममा पनि नयाँ हुने बताइएको छ।
क्यानेडियन जहाज निर्माता कम्पनी बम्बार्डियरले बनाएका सिआरजे–२०० जहाजबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज र धनगढीमा नियमित उडान गरिरहेको सौर्यले पछिल्लो समय एउटामात्र जहाजबाट उडान गरिरहेको थियो।
एयरलाइन्सले दैनिक सात उडान गर्न पाउनेगरी अनुमति पाएको छ। य
लामो समयदेखि जहाजमा प्राविधिक समस्या आएपछि एउटामात्र जहाजबाट उडान गरिरहेको एयरलाइन्सले पछिल्लो समय उडान रोकेको छ।
२०७१ मंसिरबाट चार्टर उडान सुरु गरेको एयरलाइन्सले २०७४ बाट नियमित उडान सुरु गरेको थियो। यात्रु हिस्साको हिसाबले राम्रै प्रदर्शन गरिहेको भएपनि एयरलाइन्स पछिल्लो समय आर्थिक संकटमा पर्दै गएको छ।