देशबाट विदेश विक्री गर्नेभन्दा किन्नलाई धेरै पैसा खर्च हुन थालेपछि निरन्तर व्यापार घाटा बढ्दै गएको छ।
प्रत्येक वर्ष विदेशमा विक्री गरेर आउने पैसाभन्दा किन्नलाई धेरै पैसा जान थालेपछि नीति निर्माताहरूको टाउको दुखाइको विषय बनेको छ व्यापार घाटा।
प्रत्येक वर्ष आयातको ग्राफ उकालो लाग्दै गरे पनि निर्यात भने खुम्चिदै गएकोमा सर्वत्र चासो र चर्चा हुने गरेको छ।
यसरी आयात बढ्दै जाँदा केबल उपभोग्य वस्तुसँगै पूँजीगत वस्तुको आयात पनि बढ्दै गएको छ। कुनै पनि उत्पादनमा प्रयोग हुने वस्तुलाई पूँजीगत वस्तु भन्छन्। त्यस्ता वस्तुको आयात बढ्नुले देशभित्र उत्पादन औद्योगिक वातावरण बन्दै गएको संकेतका रूपमा बुझिएको छ।
भन्सार विभागले निकालेको वैदेशिक व्यापारको वार्षिक तथ्यांकअनुसार अघिल्लो वर्ष नेपालमा १ खर्ब २४ अर्ब रुपैयाँको मेशिनरी वस्तुको आयात भएको छ। व्यक्तिगतदेखि औद्योगिकसम्म हुने त्यस्ता मेशिनरीको आयात २०७३ को भन्दा ५१ प्रतिशतले बढी हो।
अघिल्लो वर्ष नेपालले विदेशबाट किनेको रकमको ८ प्रतिशत रकम मेशिनरी आइटम खरिदमा खर्च गरेको थियो। अर्थात ९ खर्ब ८५ अर्बको विदेशबाट सामान किनेको नेपालले ८१ अर्बको त्यस्ता सामान आयात भएको थियो।
यो वर्ष त्यस्तो आयात रकमको १० प्रतिशत मेशिनरी आयातमा खर्च भएको छ। अर्थात कूल १२ खर्ब ४३ अर्बको आयात भएकोमा मेशिनरी आइटम १ खर्ब २४ अर्बको आयात भएको छ।
यतिमात्र होइन इन्धन, विद्युतीय सामग्री, फलाम, स्टिलजस्ता वस्तुको आयात पनि उच्च रहँदै आएको छ। यी वस्तु पनि उत्पादनसँग कही न कही जोडिने भएकोले देशभित्र औद्योगिक वातावरण बन्दै गएको र यसको प्रतिफल आउन केही वर्ष लाग्ने सरोकारवालाहरूको भनाइ छ।
पूँजीगत वस्तुको आयात बढ्नु राम्रो भएको र यसको वृद्धि नभइ देशमा आर्थिक विकास नहुने अर्थशास्त्रीहरूको भनाइ छ। उनीहरूका अनुसार यस्ता वस्तुको आयात केही वर्ष बढ्दा व्यापार घाटा पनि बढ्ने तर निश्चित समयपछि सन्तुलित हुँदै जाने उनीहरूको भनाइ छ।
मेशिनको प्रकार, त्यसले उत्पादन तथा रोजगारीमा पार्ने प्रभावको बारेमा एकिन नभइ त्यसको प्रभाव मूल्यांकन गर्न नसकिने बताउँछन् अर्थशास्त्री डा विश्व पौडेल।
‘उद्योगीहरूले कस्तो मेशिन ल्याएका छन् भन्ने कुराले यसको मुख्य आयाम हो, श्रमिक प्रतिस्थापन गर्नेखालका मेशिन आएका हुन् भने तिनले श्रमिकको रोजगारी र तलबमा खासै फरक पार्दैन’ उनले भने,‘यदि त्यस्ता मेशिन चलाउने दक्ष जनशक्तीको प्रयोग हुने र त्यहाँबाट उत्पादकत्वमा पनि वृद्धि हुने अवस्था आएका सकारात्मक प्रभाव पार्छं।’
यसरी थपिएका मेशिनले उत्पदान स्वभाविक बढाउने र त्यसले व्यावसायीको नाफमा स्वतः वृद्धि हुन्छ। तर यसबाट रोजगारी र श्रमिकको तलब बढाउने कुरामा मेशिनको प्रकृतिमा भरपर्ने उनको भनाइ छ।