सरकारले भारतसँगको द्विपक्षीय हवाई सम्झौता पनुरावलोकन भएर दुई देशका एयरलाइन्सले कोड सेयरिङ गर्न पाउने भएसँगै दुई एयरलाइन्सले भारतको नयाँ दिल्लीबाट काठमाडौंमा कोड सेयरिङ गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमति माग गरेका छन्।
भारतको जेट एयरवेज र श्रीलंकको श्रीलंकन एयरलाइन्सले कोडस नयाँ दिल्लीबाट काठमाडौंसम्म कोड सेयरिङ गर्न अनुमति माग गर्दै मन्त्रालयमा आवेदन दिएका छन्।
मन्त्रालयका उपसचिव प्रमोद नेपालले सम्झौतामा भएको नयाँ व्यवस्थासँगै नेपालमा प्रत्यक्ष उडान नभएका गन्तव्यबाट उडान गर्न दोस्रो एयरलाइन्ससँग सम्झौता गर्न चाहेको बताए। यद्यपी त्यसको विभिन्न पक्षको विश्लेषणपछिमात्र निर्णय गरिने उनको भनाइ छ।
भारतको जेट एयरवेजले नेदरल्यान्डको केएलएम एयरलाइन्ससँग कोड सेयर गर्न खोजेको छ। जेट एयरवेजले मन्त्रालयमा केएलएमका यात्रुलाई दिल्लीबाट काठमाडौंसम्म ल्याउन खोजेको हो।
त्यस्तै श्रीलंकन एयरलाइन्सले भारतको एयर इन्डियासँग सेयर गर्न खोजेको छ। उसले कोलम्बोबाट नयाँ दिल्ली हुँदै काठमाडौंसम्म यात्रुलाई सेवा दिन खोजेको छ। सरकारले कुनै एउटा रुट तोकेर त्यसरी आएका आवेदनलाई स्वीकृत दिएमा केएलएमले काठमाडौंका लागि टिकट काट्ने छ भने श्रीलंकनले कोलम्बोबाट काठमाडौंका लागि टिकट काट्ने छ।
साउन पहिलो साताको मन्त्रिपरिषद्को बैठकले हवाई सम्झौताको संसोधनलाई अनुमोदन गरेसँगै नेपाल र भारतका एयरलाइन्सले एकआपसमा यात्रु ओसारपसारमा साझेदारी गर्ने बाटो खुल्ला भएको हो।
लामो समयदेखि भारतीय पक्षले नेपालसँग कोड सेयर गर्न माग गर्दै आएको थियो। विशेषगरी भारतीय एयरलाइन्सको व्यापार हितलाई ध्यानमा राख्दै भारत सरकारले माग गरेपनि नेपाल सरकारले हवाई रुट दिन भारत सहमत भएपछिमात्र उक्त सम्झौतालाई अनुमोदन गरेको हो।
एक वर्ष अघि नै सम्झौतामा हस्ताक्षर भएपनि नेपाल सरकारले अनुमोदन नगर्दा उक्त व्यवस्था लागू हुन सकेको थिएन।
कोड सेयर भनेको दुई एयरलाइन्सबीचको सम्झौताअनुसार एक ठाउँबाट ल्याएका यात्रुलाई त्यही टिकट र बोर्डिङ पासमा अर्को ठाउँमा पठाउने व्यवस्था हो। कोड सेयर भनेको दुई एयरलाइन्सबीचको सम्झौताअनुसार एक ठाउँबाट ल्याएका यात्रुलाई त्यही टिकट र बोर्डिङ पासमा अर्को ठाउँमा पठाउने व्यवस्था हो।
यो सम्झौताबाट भारतीय एयरलाइन्सलाई बढी फाइदा हुने भन्दै अनुमोदन नगर्न मन्त्रालयकै अधिकारीहरुले दवाव दिंदै आएका थिए। नेपाली एयरलाइन्सले विश्वका प्रतिष्ठित एयरलाइन्ससँग सम्झौता गर्नसक्ने र उनीहरुलाई पत्याउने अवस्था नभएकोले अहिले भएको व्यापार पनि भारतीय एयरलाइन्सले खोस्ने अवस्था आउने उनीहरुको तर्क थियो।
यसबाट लन्डनबाट नेपाल उडान नगर्ने एयरलाइन्सले काठमाडौंका लागि टिकट काट्छ तर उसले कोड सेयरिङ जेट एयरवेजसँग गरेको हुनसक्छ। यस्तोमा नेपाल एयरलाइन्सले पाउँदै आएका यात्रु सिफ्ट हुने अधिकारीहरुको आशंका छ।
नेपाली एयरलाइन्सको व्यापार, विश्वासनीयत नभएकोले विश्वविख्यात एयरलाइन्सले सम्झौता गर्ने सम्भावना न्यून छ। एउटा जहाज विग्रिएको खण्डमा उडान स्थगन हुने अवस्था भएका एयरलाइन्ससँग कुनै पनि एयरलाइन्सले कोड सेयर गर्ने सम्भावना नभएको एक अधिकारीले बताए।
तर मन्त्री अधिकारी भने यो व्यवस्थाबाट नेपाल आउने पर्यटकलाई सहज हुने र त्यसबाट पर्यटकको संख्या बढ्ने भएकोले अनुमोदन गरिएको बताउछन्।