सुर्खेतको बराहताल गाउँपालिका ५ सालघारीमा सर्मिला आलेले होम–स्टे सञ्चालन गरेकी छन्। उनको होम–स्टेबाट शाकाहारी पाहुनाहरूलाई सुविधा मिल्छ। उनको होम–स्टेमा आउने पाहुनाहरूले स्थानीय मकै, कोदो, गहुँका रोटी तथा आर्गानिक सागसब्जी, आवश्यकता अनुसारको तरकारीहरू खान पाउँछन्।
त्यही ठाउँमा अर्का टोपबहादुर आलेले पनि अर्को होम–स्टे सञ्चालन गरेका छन्। टोपबहादुरको होम–स्टेबाट भने मांसहारीले सुविधा लिन पाउँछन्। उनको होम–स्टेमा स्थानीय जातको कुखुरा, खसी, बंगुरलगायतको मासुसँगै स्थानीय कृषि वस्तुबाट बनेका खानाका परिकारहरू पाइन्छ।
बराहताल गाउँपालिकाको वडा नं. ५ मा पर्ने सालघारी गाउँमा बढीजसो जनजाती (मगर) समुदायको बसोबास छ। त्यहाँ २० घरमा छुट्टाछुट्टै होम–स्टे सञ्चालनमा ल्याइएको छ। त्यसमा पनि शाकाहारी र मांसहारीका लागि छुट्टाछुट्टै होम–स्टेको व्यवस्था गरिएको छ। २० होम–स्टेमध्ये १० शाकाहारी पाहुनाका लागि हुन् भने १० मांसहारी पाहुनाका लागि हुन्।
त्यहाँ मासुसहितको परिकार खान चाहने र मासु नखाने मानिसहरू छुट्टाछुट्टै होम–स्टेबाट सन्तुष्ट छन्। शाकाहारीका लागि बनेका होम–स्टेहरूमा स्थानीयस्तरमै उत्पादित विभिन्न खालको तरकारी, साग, दही, दूध तथा स्थानीयस्तरमा उत्पादित चामलको भात, मकै, कोदो, गहुँजस्ता कृषिजन्य वस्तुबाट बनाइएको रोटीलगायतका परिकारहरू पाहुनाहरूलाई दिने गरिन्छ। यस्तै, मांसहारीका लागि बनेको होम–स्टेहरू माछा, बंगुर, खसी, सुंगुर, कुखुरा आदिको मासुका परिकारसँगै अन्य खानका परिकारहरु पाइन्छ।
होम–स्टे सञ्चालक टोपबहादुर आलेले गाउँमा आउने पाहुनाहरू मासु खाने/नखाने दुवै प्रकारका भएकाले सबैको सल्लाहबमोजिम यस्तो अवधारण ल्याइएको बताए।
‘पछिल्लो समय होम–स्टेको चर्चा निकै छ, हाम्रो गाउँमा आउने पाहुनाहरू पनि मासु कोही खाने हुन्छन्, कोही नखाने,’ आलेले भने, ‘यस्ता कुरालाई मध्यनजर गरेर हामीले फरक खालको होम–स्टे गाउँमा सञ्चालन गरेका हौं।’
होम–स्टे सञ्चालनपछि आर्थिक समृद्धि
उनले गएको वर्ष मंसिरबाट होम–स्टे सञ्चालन गरेका हुन्। होम–स्टे सुरू गरेदेखि हालसम्म ७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको आले बताउँछन्।
होम–स्टेमा जनजाति परम्परा अनुसार नै पाहुनाहरूलाई व्यवस्था गर्नेगरेको बताउँदै आलेले होम–स्टेबाट आफूहरूलाई आयआर्जनको ढोका खोलेको आफूले महशुस गरेको बताए।
होम–स्टे सञ्चालनपछि आफ्नो परिवारमा आर्थिक समस्या नआएको समेत बताए।
‘पहिले छाक टार्नै हम्मेहम्मे हुन्थ्यो, यहाँका युवाहरू कतिपय विदेश जान बाध्य हुने गरेका थिए,’ उनले भने, ‘अहिले वर्षमा कम्तिमा ५ लाख रुपैयाँ आम्दानी सबैले गर्ने गरेका छन्।
होम–स्टे सञ्चालक सर्मिला आलेले आफूहरुले शुद्ध शाकाहारी खाना खुवाउने गरेको बताइन्।
‘हाम्रो होम–स्टेमा आउने शाकाहारी पाहुनाहरूलाई हामीले हाम्रो मौलिक खानाहरू खुवाउने गरेका छौं,’ उनले भनिन्, ‘हामीले बनाएका परिकारहरूबाट आएका पर्यटकहरू अत्यन्तै सन्तुष्ट देखिनुभएको मैले महशुस गरेकी छु।’
सर्मिलाले होम–स्टे सञ्चालन गरेको १० महिना भयो। होम–स्टे सञ्चालन गरेयता आफूले ३ लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको उनले बताइन्।
सालघारीका होम–स्टेहरूमा अधिकांश आन्तरिक पर्यटकहरू आउने गरेका छन्। बाह्य पर्यटकहरू पनि समूह बनाएर होम–स्टेमा नै बस्ने गरेको होम–स्टे सञ्चालकहरूले बताएका छन्।