यात्रुको सुरक्षामा लापरबाही गरेको भन्दै नागरिक उड्डयन प्राधिकरण(क्यान)ले हेलिकप्टर अपरेटर मनाङ एयरको उडान अनुमति ‘सस्पेन्ड’ गरेको छ। उडानको क्रममा कम्पनीले यात्रु सुरक्षा मापदण्ड पुरा नगरेको आरोपमा छाविनका लागि आजदेखि अनुमति स्थगन गरिएको क्यान स्रोतले सेतोपाटीलाई जानकारी दियो।
साउन २९ गते हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकप्टरको पंखा लागेर एक जना भारतीय पर्यटकको मृत्यु भएको थियो। सोही घटनालाई लिएर क्यानले मनाङको उडान अनुमति तत्कालको लागि स्थगन गरेको हो।
‘हुम्लामा जसरी यात्रुको मृत्यु भयो त्यसमा कम्पनीको लापरबाही देखियो, यात्रुलाई किनारा लगाउनुपर्ने सबै दायित्व कम्पनीको हो तर त्यस्तो नगरी जुन तहको हेलचक्र्याइँ भएको छ त्यसले गम्भिर सुरक्षा प्रश्न उब्जाएको छ’ स्रोतले सेतोपाटीसँग भने,‘ नियमअनुसार एयरलाइन्स र पाइलटले जसरी सुरक्षा व्यवस्था अपनाउनुपर्ने थियो त्यो देखिएन यो सरासर मापदण्डको खिलाप हो।’
मानसरोवर कैलास यात्राका लागि हुम्लाको सिमिकोट एयरपोर्टबाट मनाङ एयरको हेलिकप्टरमा हिल्सा गएका भारत महाराष्ट्रका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहतालाई हेलिकप्टरको पंखाले काट्दा मृत्यु भएको थियो।
एयरलाइन्सले सुरक्षा प्रबन्ध नअपनाएको र यसबाट नेपालको उड्डय क्षेत्रलाई झनै दाग लगाउने काम भएको भन्दै क्यानले थप अनुसन्धन गर्न अनुमति सस्पेन्स गरेका जनाएको छ।
‘उसको सुरक्षा प्रणाली राम्रो देखिएन थप अनुसन्धान पछिमात्र उडान अनुमति सुचारु गर्ने नगर्ने बारे निर्णय हुने छ तर आजदेखि सबै उडान रोक लगाएका छौ’ स्रोतले भन्यो।
फर्जी उद्धारको आरोपमा मनाङ एयरमाथि थप अर्को अनुसन्धान पनि भइरहेको छ। २० वर्ष पुरानो एयरसँग हाल ४ वटा हेलिकप्टर रहेका छन्।